Logo

२५ वर्षमा यती समूहको १४ औं हवाई दुर्घटना



काठमाडौं, १ माघ । काठमाडौंबाट पोखराका लागि उडेको यती एयरको विमान दुर्घटना यती समूहको २५ वर्षयता भएको १४ औं हवाई दुर्घटना हो। नागरिक उड्डयन प्राधिकरणका अनुसार नेपालमा हवाई दुर्घटनाको रेकर्ड राख्न थालिएको ६७ वर्ष भएको छ।

दुईवटा टुइनअटर विमानबाट ०५५ जेठमा स्थापना भएको यती एयरलायन्सले २५ वर्षयता आफ्ना दुई जना सञ्चालक दाजुभाइसहित १३ वटा हवाई दुर्घटनामा चालकदलका सदस्य र यात्रुसहित १३० जनाभन्दा बढीले ज्यान गुमाइसकेका छन्।

धेरै हवाइ दुर्घटना बेहोर्नु परेपछि यतीले दुर्गम उडानका लागिभन्दै १३ वर्षअघि अर्को कम्पनी तारा एयर स्थापना गरेको थियो। तारा स्थापना भएयता ६ वटा दुर्घटना भइसकेका छन्।

२४ वर्षयता यती र दुर्गम उडानका लागि स्थापना गरिएको सहायक कम्पनी तारा एयरसमेत गरी पर्यटन व्यवसायी लाक्पा सोनाम शेर्पाको कम्पनीले १४ वटा हवाई दुर्घटना बेहोरिसकेको छ।

कुल १४ वटा घटनामा यती समूहले आफ्नै कम्पनीका विमानमा मानवीय क्षति भएका ७ वटा दुर्घटना बेहोरिसकेको छ। यसमा तीनवटा तारा र चारवटा यतीसँग सम्बन्धित छन्। बाँकी ७ वटा घटनामा यात्रु घाइते भए पनि कुनै मानवीय क्षति भने हुन पाएन।

कुल १४ वटा घटनामा दुर्गम तथा हिमाली भेगमा मात्रै यो समूहले ११ वटा घटना बेहोरिसकेको छ। अधिकांश दुर्घटनामा यती समूहले वरिष्ठ तथा विज्ञ पाइलटहरू गुमाएको तथ्यांकमा देखिन्छ।

(तस्बिर : आज पोखरामा दुर्घटना भएको विमान। स्रोत : Robin Frosch/@JetPhotos)



प्रतिक्रिया दिनुहोस्

Screenshot