Logo

भाषण गरेर भूमि फिर्ता ल्याउँछु भन्नु इनारभित्र भ्यागुतो कराएजस्तो मात्र होः कूटनीतिज्ञ



काठमाडौं, १२ माघ । कूटनीतिज्ञ डा. लोकराज बरालले नेताहरुले भाषण गर्दैमा लिपुलेक, लिम्पियाधुरा, कालापानी लगायतका भूभाग फिर्ता नहुने बताएका छन् ।
‘प्रचण्ड, राजेन्द्र लिङ्देन वा रवि लामिछानेले मुखले भन्नु एउटा कुरा हो, तर दुई देशबीच विश्वास जगाएर वातावरण गराउने काम भएको छैन । नेपाल र भारत दुवै देशले आआफ्नो नक्सा बनाइसकेको स्थिति छ । ठूलो कुरा गरेर बेकारमा समय खर्च मात्र हो । पहिले सुस्ताको सीमा समस्या हल गरौं न । नेताहरुले पत्याउने कुरा गर्नुपर्छ नि,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै बरालले भने ।
रातारात सीमा समस्या समाधान गर्न नसकिने पनि उनले औंल्याए । बरालले थपे, ‘अहिले ठूला कुरा गर्नुभन्दा पनि विवाद नभएको सीमा मात्र व्यवस्थापन गर्न सके धेरै हुन्छ । भारतका पनि बाध्यता होलान् । पहिले भैरहवा एयरपोर्ट आउजाउका कुरा गरौं न । हामीले अहिलेसम्म भैरहवाबाट पश्चिमी रुट पाएका छैनौं । अहिले भूभाग फिर्ता ल्याउँछु भन्नु त इनारभित्र भ्यागुतो कराएजस्तो मात्र हो ।’
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणबाट पनि दुई देशबीचको सम्बन्धमा तात्विक परिवर्तन नहुने उनको विश्लेषण छ । बरालले थपे, ‘भारत स्वतन्त्र भएको ७५ वर्ष भयो । यसबीचमा नेपाल-भारत सम्बन्ध सामान्य रुपमा चलिरहेको छ । दुई देशको आजादीको लडाइँमा दुवैतर्फका नेताहरुको सहयोग रह्यो । नेपालको बाटाघाटा, एयरपोर्ट, शिक्षा, स्वास्थ्य क्षेत्रको विकासमा भारतको धेरै ठूलो सहयोग छ । साँच्ची भनुँ भने, भारतले त्रिभुवन राजपथ खोलिदिएपछि मात्रै नेपालले अरु मुलुकसँग सम्पर्क बढाउन सम्भव भएको हो । त्यसैले भएका कुरामा सकारात्मक हुँदै अघि बढ्नु राम्रो हुन्छ ।’
अर्को प्रसंगमा कूटनीतिज्ञ बरालले दलहरुले राष्ट्रपतिको भूमिका बिटुल्याउन खोजेको आरोप पनि लगाए । उनले भने, ‘राष्ट्रपतिलाई दलीय रुपमा र राजनीतिक स्वार्थमा प्रयोग गरियो । विद्या भण्डारीले त ओलीको रबर स्ट्याम्प जस्तो भएर मात्र काम गर्नुभयो । भारतमा त्यत्रो भेटेरान कांग्रेसी नेता प्रणव मुखर्जी कुनै विवादमा परेनन् । नरेन्द्र मोदीको सरकारले उनलाई भारत-रत्न दियो । राजनीति गर्नलाई राष्ट्रपति दिने ? राष्ट्रपति पद ठूलै हो, तर प्रधानमन्त्रीभन्दा सक्रिय पद होइन ।’
राष्ट्रपति पदमा गैर-एमाले आउन सक्ने पनि उनले बताए । बरालले भने, ‘प्रचण्ड लिन्ठिङ लिन्ठिङ प्रधानमन्त्री मात्र छन् । सबै पद अरुलाई बाँडेका छन् । अब उनले केपी ओलीबाट मुक्ति पाउन खोजेको हो भने गैरएमाले राष्ट्रपति हुन सक्छ ।’



प्रतिक्रिया दिनुहोस्