Logo

करदाता शिक्षाका लागि घरदैलो अभियान



काठमाडौँ,१२ माघ । आन्तरिक राजस्व सङ्कलन सन्तोषजनक नरहेको भन्दै विराटनगर महानगरपालिकाले राजस्व वृद्धिका लागि विभिन्न उपाय आवलम्बन गरेको छ ।

महानगरपालिकाले राजस्व बढोत्तरीका लागि घरदैलोमा नै पुगेर करदाता शिक्षा अभियान जारी राखेको छ । सचेतनाका लागि जनप्रतिनिधि एवं महानगरपालिकाका सम्बन्धित शाखाका कर्मचारी खटिएका छन् । अभियानको शुभारम्भ गत मङ्सिर २९ गते नगर प्रमुख नागेश कोइराला र उपप्रमुख शिल्पा निराला कार्कीले करदाता शिक्षा अभियानको शुभारम्भ गरेका छन् ।

विराटनगरको उत्तरी सिमाना खारजी कोहवराबाट करदाता शिक्षा अभियानको सुरूआत गरिएको थियो । महानगरपालिकाको वडा नं २ मा जनप्रतिनिधि र कर्मचारीले घर, पसल तथा कारोबार स्थलमा नै पुगेर वडावासीलाई कर तिर्नुपर्ने दायित्वबारे शिक्षा प्रदान गर्नुभयो । महानगरपालिकाले करदाता शिक्षा र कर तिरेको वा नतिरेका बारे नियमन गर्ने उद्देश्यका साथ वडा नं २ मा मङ्गलबारदेखि अभियान थालेको हो ।

घरदैलो गर्दै घर र पर्खालको नक्सा पास गरेको या नगरेको, सम्पत्ति कर, बहाल कर तिरेको वा नतिरेको, व्यवसाय दर्ता र नवीकरणलगायतका प्रक्रिया गरे÷नगरेको भन्ने यकीन गर्दै वडावासीसँग मित्रवत संवाद गरिएको थियो । करका विभिन्न शीर्षकमा जरिवाना छुट गरिएको र म्यादभित्र नै सम्पूर्ण कर चुक्ता गर्न वडावासीसँग जनप्रतिनिधि र कर्मचारीले आग्रहसमेत गरेका थिए।

अभियानको नेतृत्व गरेका महानगरपालिकाका राजस्व महाशाखा प्रमुख सरोज गौतमले महानगरपालिका आर्थिकरूपमा पछाडि परेको बताए । उनले आन्तरिक आय वृद्धि गरी विकास निर्माण र प्रशासनिक सेवा प्रभावकारीरूपमा सञ्चालन गर्न बजेट चाहिने हुँदा आन्तरिक आय वृद्धिका लागि करदाता शिक्षा अभियान सञ्चालन गरिएको बताए । महाशाखा प्रमुख गौतमले चालु आर्थिक वर्षको अन्तसम्म अभियान जारी रहने बताए ।

महानगरपालिकाका लेखा अधिकृत सञ्जीवकुमार भट्टराईले वडावासीले घरजग्गाको नक्सा पास नगराएको र पास गराए कुनै जरिवाना नलाग्ने भन्दै करसम्बन्धी सचेतना फैलाउँदै घरदैलोमा हिँडेको बताए। वडा नं २ का वडा सदस्य दीपक प्रधानले कर तिर्नु सबैको दायित्व रहेको बताए । महानगरपालिकाले २०७९ साललाई आन्तरिक आय अभिवृद्धि वर्षका रूपमा लिएको छ । रासस

 

 



प्रतिक्रिया दिनुहोस्