Logo

रास्वपामा नै दुई धार देखिएपछि रवि लामिछाने उकुसमुकुसमा



काठमाडौं, १८ माघ । सरकारमा बस्ने वा बाहिरिने भन्ने विषयलाई लिएर रास्ट्रिय स्वतन्त्र पार्टीमा दुई धार देखिएपछि पार्टी सभापति रबि लामिछाने सरकारबारे अनिर्णयको बन्दी बनेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारमा यसअघि उपप्रधान एवम् गृहमन्त्री रहेका लामिछानेलाई सर्वोच्च अदालतले गत शुक्रबार नेपाली नागरिकता पुन: प्राप्ति नगरेको भन्दै सांसद र मन्त्री पदनै खारेजी गरिदिएको थियो । सर्वोच्चको फैसलालगत्तै आफूलाई अनागरिक बताउँदै लामिछाने गृहमन्त्रालयबाट बाहिरिएका थिए।

आइतबार नै काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट पुन: नागरिकता लिएका लामिछानेलाई सोही दिन नै पार्टीले उनलाई फेरि सभापति बनाएको थियो। सभापति बनेलगत्तै पटक-पटक प्रधानमन्त्री र एमाले अध्यक्षसँग भेटेर आफूलाई गैरसांसदका रुपमा गृहमन्त्री बनाउन लागिपरेका छन् ।

ओलीले पनि रबिलाई पुन: गृहमन्त्री बनाउन प्रचण्डलाई भेटेर धेरैपटक दबाब दिइसकेका छन्। तर, प्रचण्डको स्वभाव र ब्याक अफ फोर्स कांग्रेसका कारण उनी लामिछाने मात्रै नभएर रास्वपाका कुनै सांसद्‍लाई पनि गृहमन्त्री बनाउने मुडमै छैनन्।

हिजो बिहानमात्रै प्रधानमन्त्री निवास बालुवाटार छिरेर प्रधानमन्त्री प्रचण्डलाई बेलुका ५ बजेसम्म आफूलाई गृहमन्त्री नबनाए सरकार छोड्ने धम्कि दिएका लामिछानेलाई आफ्नै पार्टीमा सरकारबारे दुई धार हुँदा निल्नु न ओकल्नु भएको छ ।

५ बजेसम्म समयसीमा दिएर गृहमन्त्री नबनाए सरकारबाट बाहिरिने प्रस्ट मनसाय बनाएका लामिछानेले आफ्नो पार्टीको बैठकसम्म पनि राख्न सकेनन्। रास्वपा उपसभापति तथा हाल सरकारमा श्रममन्त्री डिपी अर्याललगायत केही सांसद तत्काल सरकार नछोड्ने र रबिलाई नै गृहमन्त्री ल्याउने तयारी गरौं भन्ने एक धार र पार्टी प्रवक्ता मुकुल ढकालसहित सांसदहरु तत्कालै गैरसांसदको रुपमा गृहमन्त्री नियुक्ति नगरे सरकार छोड्नुपर्छ भन्ने अर्को धार रहेको छ।

प्रवक्ता ढकालको धारमा हिडिँरहेका लामिछानेले सोही धारकै कारण मंगलबार बिहान प्रचण्डलाई समयसीमा दिएका थिए। तर, समयसीमा सकिएपछि सरकारबाट बाहिरिने तयारी गरिरहेका लामिछानेलाई उपसभापति तथा श्रममन्त्री ढकाललगायतको समूहले सरकारबाट नबाहिरीन दबाबदिएपछि फेरि बिवादमा आउने डरले लामिछानेलाई यतिबेला उकुसमुकुस भएको छ।



प्रतिक्रिया दिनुहोस्