Logo

गुरुयोजना मन्त्रिपरिषद्मा पेस गर्ने तयारी



काठमाडौँ,२० माघ । पशुपति क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरको तीर्थस्थल बनाउने दीर्घकालीन रणनीतिसहित पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्बाट गुरुयोजना पारित भई मन्त्रिपरिषद्मा पेस गर्ने तयारी भएको छ ।

पशुपति क्षेत्रका मूर्त–अमूर्त तथा प्राकृतिक सम्पदाको संरक्षण गरेर आकर्षक पर्यटकीय गन्तव्यस्थल बनाइने गुरुयोजनामा उल्लेख गरिएको छ । यस क्षेत्रको योजनाबद्ध विकासका लागि राष्ट्रिय/अन्तर्राष्ट्रिय दाता तथा सरोकार समूहसँगको सहयोग र सहकार्यलाई प्रोत्साहित गरिने नीति गुरुयोजनामा लिइएको छ ।

पशुपति क्षेत्रमा दर्शन, पूजन तथा यज्ञयागादिका लागि आउने भक्तजन र दृश्यावलोकनका लागि आउने पर्यटकहरुको सेवा, सुविधाका लागि आवश्यक पूर्वाधारको विकास गरिने गरी तयार पारिएको गुरुयोजना गत पुस ८ गते सञ्चालक परिषद्बाट पारित गरिएको कोषका सदस्यसचिव डा मिलनकुमार थापाले जानकारी दिए । परिषद्को अध्यक्ष संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रहने व्यवस्था पशुपति क्षेत्र विकास कोष ऐनमा गरिएको छ ।

पशुपति क्षेत्रको योजनाबद्ध विकासका लागि कोषले विसं २०५३ मा अवधारणात्मक गुरुयोजना सरकारले स्वीकृत गरेको थियो । आर्थिक वर्ष २०५७/५८ देखि लागू भएको यो गुरुयोजना १० वर्षसम्म कार्यान्वयन भएको थियो । आव २०७०/७१ देखि पशुपति क्षेत्र राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको छ ।

परिषद्बाट हालै पारित भएको पशुपति क्षेत्रको संरक्षण एवं व्यवस्थापन गुरुयोजना २०७९, मन्त्रालयमा पेस गरी त्यहाँबाट मन्त्रिपरिषद् पठाउने तयारी गरिएको उनले जानकारी दिए । पशुपति क्षेत्रको धार्मिकता, आध्यात्मिकता, सांस्कृतिक एवं पवित्रताको प्रवद्र्धन गर्ने लक्ष्य गुरुयोजनामा राखिएको छ । यस क्षेत्रका ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक सम्पदा, कला एवं वास्तुकलाको संरक्षण र संवद्र्धन गर्ने उद्देश्य पनि गुरुयोजनाको छ ।

पशुपति क्षेत्रको भूबनोट, भू–संरचना, नदी जङ्गललगायतका प्राकृतिक सम्पदाको संरक्षण गरी पर्यावरण जोगाउने, रैथाने जीवजन्तु जोगाउने र पशुपक्षीका लागि आवश्यक सेवासुविधा सहज ढङ्गले उपलब्ध गराउन पूर्वाधार विकास गरिने भएको छ । यस क्षेत्रमा आउने तीर्थयात्री तथा पर्यटकका लागि आवश्यक सेवासुविधा सहज ढङ्गले उपलब्ध आवश्यक काम गरिने भएको छ । परम्परागत स्रोत, साधन र अभ्यासलाई पुनःस्थापित गर्दै पशुपति क्षेत्रमा रहेका गुठीको समुचित व्यवस्थापन गरिने भएको छ ।

चालू आर्थिक वर्षमा गुरुयोजना मन्त्रिपरिषद्बाट पारित गरेर कार्यान्वयनमा अघि बढाइने भएको छ । पशुपति क्षेत्रको दुई सय ८३ हेक्टर जमिनमध्ये ८३.५५ हेक्टर क्षेत्रफल प्राचीन स्मारक क्षेत्रमा पर्छ । रासस

 



प्रतिक्रिया दिनुहोस्