Logo

राष्ट्रपतिमा दाबी गर्दै सुजाता कोइराला, देउवासँग भेटेरै गरिन् प्रस्ताव



काठमाडौं, २० माघ । नेपाली कांग्रेसकी नेतृ एवम् पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले राष्ट्रपतिमा दाबी गरेकी छिन् । राष्ट्रपतिको निर्वाचन नजिकिएसँगै सुजाताले आफ्नो दाबी पेश गरेकी हुन् । उनले पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर राष्ट्रपतिमा आफू योग्य उम्मेदवार भएकोले सहयोग गर्न आग्रह गरेकी हुन् ।

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेट्ने तयारी गरेकी छिन् । राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुँदैछ । प्रमुख दलहरु राष्ट्रपतिको निर्वाचनको लागि केन्द्रित भएर छलफल गरिरहेका छन् । सत्ता गठबन्धनमा राष्ट्रपति एमालेको भागमा परेको छ। प्रधानमन्त्रीमा दाबी गर्न शितलनिवास पुग्नुअघि नै एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच राष्ट्रपति एमालेले लिने भद्र सहमति भएको बताईएको छ ।

तर, २६ पुषमा प्रधानमन्त्री दाहालले संसद्मा विश्वासको मत लिँदा कांग्रेसले पनि विश्वासको मत दिएपछि राष्ट्रपतिको निर्वाचन पेचिलो बनेको छ । अहिले सत्ता गठबन्धन रास्वपाका कारण धर्रमराएको छ । रास्वपाले गृहमन्त्रालयमा दाबी गरिरहेको छ। तर, प्रधानमन्त्री दाहाल भने कुनैपनि हालतमा गृहमन्त्रालय रास्वपालाई नदिने पक्षमा पुगेका छन् ।

कांग्रेसमा राष्ट्रपतिको लागि उम्मेदवार बन्न नै आधा दर्जन नेता आकांक्षी छन् । वरिष्ठ नेता रामचन्द्र पौडेलदेखि पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले पनि राष्ट्रपतिमा दाबी गरेका छन् । अहिले सुजाताले पनि दाबी गरेकी हुन् ।

उनले त पार्टी सभापति देउवा, एमाले अध्यक्ष ओली र प्रधानमन्त्री दाहालसँग फेरि पनि छुट्टाछुट्टै भेटेरै राष्ट्रपतिमा आफ्नो दाबी पेश गर्ने तयारी गरेकी छिन् । आफ्ना पिता गिरिजाप्रसाद कोइरालाले गणतन्त्र ल्याउन महत्वपूर्ण भूमिका खेलेको कारणपनि राष्ट्रपतिमा आफ्नो दाबी स्वभाविक हुने उनको जिकिर छ । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्