Logo

रास्वपाले दिएको समयसीमा सकिँदै : के उच्चस्तरीय संयन्त्रको बैठक बस्ला ?



काठमाडौं, २१ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सरकारलाई दिएको समयसीमा सकिन केही समय बाँकी छ। माघ १९ गते रास्वपाको केन्द्रीय कमिटी र संसदीय दलको बैठकले सरकारबाट बाहिरिने वा नबाहिरिने भन्नेबारे दुई दिनको समय दिएको थियो।

रास्वपाले तत्कालै सरकार नछोड्ने भन्दै गृहमन्त्री दिन वा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक राखेर छलफल गर्न सरकारलाई आज(शनिबार)सम्मको समयसीमा दिएको थियो।

हिजो (शुक्रबार) रास्वपाको मागबारे सत्तारुढ गठबन्धनमा खासै छलफल नभएपनि एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा अध्यक्ष ओली, रास्वपा सभापति रवि लामिछाने र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच शुक्रबार साँझ दुई घन्टा बढी छलफल भएको थियो।

त्यस्तै, समयसीमाको अन्तिम दिन आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अध्यक्ष ओलीबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको थियो। छलफलमा राष्ट्रपति निर्वाचन र रास्वपाको मागको बारेमा कुराकानी भएपनि ठोस सहमति नभएको बुझिएको छ।

यसैबीच आज नै माओवादी स्थायी समितिको बैठक सुरु भइसकेको छ। बैठकको अध्यक्षता प्रधानमन्त्री प्रचण्डले नै गर्नेछन्। बैठकमा रास्वपाको मागको बारेमा पनि छलफल हुने बताइएको छ। तर पार्टीका अधिकांश नेताहरुको धारणा गृहमन्त्रालय माओवादी आफैले राख्नुपर्ने रहेको छ।

उच्चस्तरीय समितिका संयोजकसमेत रहेका एमाले अध्यक्ष ओलीले हालसम्म समितिको बैठक बोलाएको जानकारी सञ्चारमाध्यममा आएको छैन। यस्तै प्रधानमन्त्री प्रचण्डलेपनि लामिछानेलाई गृहमन्त्रालयमा ल्याउन अहिलेसम्म कुनै तयारी नगरेको सचिवालयले जनाएको छ।

यसरी सत्तागठबन्धनका दुई प्रमुख घटक एमाले र माओवादीको अहिलेसम्मको तयारी देख्दा रास्वपाले आजसम्म दिएको समयसीमामा प्रधानमन्त्रीले केही निर्णय गर्ने छाँटकाँट देखिदैन।



प्रतिक्रिया दिनुहोस्