Logo

काठमाडौं महानगरका ३२ वटै वडाबाट राष्ट्रिय परिचयपत्र वितरण सुरु



काठमाडौं, २१ माघ । काठमाडौं महानगरपालिकाले सेवा विस्तार गर्दै ३२ वटै वडा कार्यालयबाट राष्ट्रिय परिचयपत्र वितरणको काम सुरु गरेको छ । यही माघ १५ मा कामपाले नौवटा वडाहरु २४, २५, २६, २७, २८, २९, ३०, ३१ र ३२ बाट प्रारम्भ गरेको सेवा अहिले ३२ वटै वडा कार्यालयमा विस्तार गरेको हो ।

यही माघ १० देखि सबै वडाबाट परिचयपत्र वितरण गर्ने भनिए पनि प्राविधिक काम बाँकी रहेपछि पञ्जीकरण विभागसँग छलफल गरी सोमबार देखि सेवा सुरु गरिएको कामपाको प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । नागरिकले आफुलाई पायक पर्ने वडा कार्यालयमा गई परिचयपत्र प्राप्त गर्न सक्ने प्रवक्ता मानन्धरले बताए ।

‘तोकिएका केही स्थानबाट मात्रै परिचयपत्र वितरण गर्दा समयमा परिचयपत्र नपाएको गुनासो नागरिकबाट आएपछि ३२ वटै वडामा सेवा विस्तार गरी पायक पर्ने स्थानमा जान सकिने व्यवस्था मिलाएका छौ,’ उनले भने ।

यसअघि सिंहदरबारमा रहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट परिचयपत्र तयार गरी प्रत्येक जिल्लामा जिल्ला प्रशासन कार्यालयहरूबाट वा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले तोकेको स्थानबाट मात्रै वितरण गरिँदै आएको थियो ।

कानुनी रुपमा १६ वर्ष उमेर पूरा गरी नेपाली नागरिकताको प्रमाणपत्र लिएको व्यक्तिले उक्त परिचयपत्र लिने सक्ने व्यवस्था छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन २०७६, कार्यविधि २०७७ अनुसार वैयक्तिक तथा जैविक विवरण समावेश गरिन्छ ।

विवरण दिन जाँदा नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल प्रति, नागरिकताको प्रमाणपत्रमा जन्ममिति नखुलेको भए शैक्षिक योग्यताका प्रमाणपत्र, राहदानी वा मिति खुल्ने आधिकारिक प्रमाण आवश्यक पर्दछ । नागरिकताको प्रमाणपत्रमा उल्लेखितभन्दा फरक स्थायी ठेगाना भएमा बसाइँसराइ सक्कल दर्ताको प्रमाणपत्र आवश्यक पर्दछ ।



प्रतिक्रिया दिनुहोस्