Logo

लाक्पा तामाङसहित विभिन्न दलका नेता तथा कार्यकर्ताहरु नागरिक उन्मुक्ति पार्टी प्रवेश



काठमाडौं, २२ माघ । विभिन्न पार्टी परित्याग गरी ठूलो संख्यामा युवाहरु नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन् । नागरिक उन्मुक्ति पार्टीले आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा एक कार्यक्रमको आयोजना गरी नवप्रवेशीलाई स्वागत गरेको हो । आजको कार्यक्रममा राप्रपा नेपालका संस्थापक समूहका नेताहरु र नेकपा (माओवादी समाजवादी समाज) का केन्द्रीय सदस्य रमेश महतेले पार्टी परित्याग गर्दै नागरिक उन्मुक्तिमा प्रवेश गरेका छन् । नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य राजेश अधिकारीले नागरिक उन्मुक्ति पार्टीको मुद्दालाई बुझेर पार्टीमा प्रवेश गर्नेको लहर बढेको बताए । नवप्रवेशीलाई सांसद लालवीर चौधरीले खादा लगाएर पार्टीमा स्वागत गरेका छन् ।

‘नागरिक उन्मुक्ति पार्टी १३ महिनाको जन्मको दौरानमा यहाँसम्म आइपुगेको छ । सिद्धान्त, आदर्श र यो पार्टीले अंगीकार गरेको माग मुद्धाहरु छन्, अधिकार र पहिचानको कुरालाई केन्दविन्दुमा राखेर एउटा मियो बनेर देशभरबाट पार्टी प्रवेशको लहर चलिरहेको छ,’उनले भने । पार्टी सुरुभएको अवधिदेखि अहिलेसम्मको दौरानमा पार्टी र पार्टीका नेताहरुमाथि पटक–पटक आक्रमणको प्रयास भएको उनको दाबी छ । सांसद अरुण चौधरीलाई फिर्ता भएको मुद्दामा राज्यले फेरि समातेको भन्दै उनले यस घट्नाले आफूहरुमाथि आक्रमण भइरहेको प्रमाणित गरेको दाबी गरे ।
‘यो बीचमा अत्यन्त विषम परिस्थितिमा जन्मिएको पार्टीलाई कुन ढंगको आग्रमण हुँदोरहेछ भन्ने उदाहरण हामीले माननीय अरुण चौधरीलाई पक्राउ गरिएबाट छर्लङ्गनै हुन्छ । संसद् चलिरहेको बेलामा बहालवाला जनप्रतिनिधिलाई सभामुखको स्विकृतिबिना, सभामुखलाई जानकारी नगराई समात्नु भनेको यो जनताको मानवअधिकारको घोर अपमान हो । संसदीय शासन पद्धतीलाई नाङ्गेझार पारिएको प्रमाण हो । जबकी २०६९ साल जेठ १० गते नै ती सबै थरुहट आन्दोलन र अखण्ड सुदूरपश्चिमका घटनालाई शान्ति तथा पुनर्निर्माण मन्त्रालयअन्तर्गत ती सबै घटनाहरु सबै मुद्दा फिर्ता गरिएको अवस्थामा यी किसिमका गतिविधि आउनु, राजबन्दीलाई थुनामा राखिरहनु र भूमिपुत्रलाई अझै कठघरामा राखिरहनुको विषम परिस्थितिमा देशका स्वाभिमानी नागरिकको हिसाबले गोलबद्ध हुन हामी उपस्थिति भएका छौं,’ अधिकारीले भने ।

बागमती प्रदेश अध्यक्ष एवं केन्द्रीय सदस्य दीप तामाङले नागरिक उन्मुक्ति पार्टीको मुद्धा र विचारलाई बुझेर पार्टी प्रवेश गर्नेको संख्या बढिरहेको बताए । त्यसैगरी, केन्द्रीय सदस्य एवं पूर्व सांसद हिमाँचलराज भट्टराईले टीकापुर घटनामा रेशम चौधरीलगायतका नेताहरुको संलग्नता नरहेको दाबी गरे । ‘हाम्रो पार्टी तीन वटा मुद्धा लिएर गठन भएको हो । हाम्रो देश बहुजाति, बहुसांस्कृतिक बहुधार्मिक देश हो । सबै जातिको यो मुलूकमा अपनत्व होस् । संविधानले सबैको माग मुद्धालाई स्विकार गरोस् भनेर देश संघीयतामा प्रवेश गरिरहेको बेलामा सुदूरपश्चिमतर्फ हामीले माग थारुवान राज्यको माग अगाडि सारेर अघि बढेका थियो । त्यही दौरानमा अप्रिय घटना घट्यो । केही राष्ट्रसेवकहरु सहिद हुनुभयो । उहाँहरु प्रति हाम्रो श्रद्धाञ्जली छ । तर, त्यो घटनामा हाम्रा नेताहरु सहभागी हुनुहुन्नथ्यो । रेशम चौधरी त्यो क्षत्रभन्दा बाहिर हुनुहुन्थ्यो,’उनले भने ।

रेशम चौधरी निर्दोष रहेको कुरा जनताले २०७४ को निर्वाचनमा भारी मत दिएर जिताएसँगै प्रमाणित भइसकेको उनको दाबी छ । सरकारले थारू राजबन्दीलाई स–सम्मान रिहाइ गर्नुको सट्टा १० वर्षअघिका मुद्दा उल्टाउन लागिपरेको बताए । राजनीतिक मुद्दामा मुछिएर जेल जीवन विताइरहेका सबै पार्टीका कार्यकर्तालाई सरकारले तुरुन्त रिहाइ गर्नपर्न उनको सरकारसँग माग छ । ‘टीकापुर घट्नाका सम्पूर्ण राजबन्दीसहित र अरु पार्टीका जो–जो राजनीतिक घटनाक्रममा मुछिएर जेल जीवन बिताउन बाध्य हुनुहुन्छ । उहाँहरुलाई सरकारले तुरुन्त रिहाइ गरोस्,’उनले भने । नवप्रवेशी तेजबहादुर भुजेलले केही व्यक्तिहरुले राज्यलाई लामो समयदेखि लुटिरहेको आरोप लगाए । देश लुटेको हेर्न नसकेर आफू नागरिक उन्मुक्ति पार्टीको छत्रछाँयाबाट देश परिवर्तनमा योगदान दिन खोजेको उनको भनाइ छ । ‘२०४६ सालदेखि यो देशलाई मिलिजुली लुटिरहेका छन् । तिनै पार्टीको वरिपरी रहेर फेरिपनि भ्रष्टचार निर्मुल गर्छु र अपराधीलाई कारबाही गर्छु भन्नु दिवास्वपना हो । यो देशको माटो बोल्ने पार्टी, चुलोचोकोको कुरा गर्ने र सबै नागरिकको भावना बोल्ने पार्टी हामीले राज्यौं,’उनले भने । अर्का नवप्रवेशी राजेश्वरदास श्रेष्ठले नागरिक उन्मुक्ति पार्टी योद्धाहरुको समूह भएको बताए । नागरिक उन्मुक्ति पार्टी जनताको मनसँग जोडिएको पार्टी भएको उनको दाबी छ । नागरिक उन्मुक्ति पार्टी प्रत्येक ठाउँका जनताको आशाको केन्द्र भएको उनले बताए । ‘एउटा संघर्षसील समूह, विद्रोहीहरुको समूह, विद्रोह बन्दुक बोकेर मात्रै हुँदैन । सिद्धान्त र विचारको पनि हुन्छ । तर, के का लागि भन्ने हुन्छ । यो विद्रोह पक्कैपनि राष्ट्रको लागि हो । नागरिक उन्मुक्ति पार्टी जनताको मनसँग जोडिएको पार्टी हो । जनताको पीडा र समस्यासँग जोडिएको पार्टी हो । उत्पीडित नागरिकलाई वास्तविक नागरिक बनाउन जन्मिएको पार्टी हो,’ उनले भने ।

राजनीतिक थलोबाट बोलेपछि धेरैले सुन्ने र देश र समाजको विकासका मुद्धा उठाउन आफू नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्न लागेको बताए । जनताले अभिमत दिएका नेताले भागबन्डामा जनताको अभिमतको कदर गर्न नसकेको उनको आरोप छ । नेकपा (माओवादी समाजवादी समाज) का केन्द्रीय सदस्यसमेत रहेका नवप्रवेशी रमेश महतेले माओवादीले बुर्जुवा शिक्षाको काम छैन भन्दै आफूहरुलाई दिएको तालिम व्यर्थ भएको टिप्पणी गरेका छन् । माओवादी जनयुद्धमा जनमुक्ति सेनाको भूमिकामा रहेका महतेले माओवादी आन्दोलन व्यर्थ भएपछि नागरिक उन्मुक्ति पार्टीमा रहेर तीन करोड नेपालीको मुक्तिका लागि काम गर्न पार्टी प्रवेश गरेको बताए । ‘माओवादीको लालसेनामा भर्ना भएर त्यो कलिलो उमेरमा म जनयुद्धको सेनाको तालिम लिन बाध्य भएँ । बुर्जुवा शिक्षाको काम छैन भन्ने माओवादीले तालिम दियो तर आज सबै व्यर्थ भयो । न त राम्रोसंग मास्टर्स डिग्री पढ्न पाइयो न त माओवादीले भनेजस्तो देश स्विजरल्याण्ड र सिंगापुर बनाउँछु भन्ने माओवादीको भनाई झुट सावित भयो । आज नागरिक उन्मुक्ति पार्टी प्रवेश गर्दैछु । नागरिक उन्मुक्ति पार्टीमा लागेर तीन करोड नागरिकको मुक्तिका लागि अगाडि बढ्छु भनेर म पार्टी प्रवेश गरेको हुँ,’ उनले भने ।
त्यसैगरी, नवप्रवेशी रामदास गोपालीले हाम्रो देशलाई स्विजरल्याण्ड र सिंगापुर बनाउन जरुरी नभएको बताएका छन् । पार्टीहरुको घोषणापत्र र नारा जनताको आँखामा भ्रम छर्नका लागि भएको प्रमाणित भइसकेको उनले बताए ।

‘सम्पूर्ण पार्टीका नेताले भन्छन् यो देशलाई स्वीजरल्याण्ड बनाउँछौं, सिँगापुर बनाउँछौं । मलाई लाग्छ यो मुलूकलाई स्वीट्जरल्याण्ड र सिंगापुर बनाउन जरुरी छैन । समृद्ध नेपाल बनाए पुग्छ,’उनले भने । संघीय सांसद लालवीर चौधरीले पार्टीले छोटो समयमा नै स्थानीय सरकारदेखि केन्द्रसम्म प्रतिनिधित्व गर्न सफल भएको बताए । डिल्लीबजारको कारागारबाट जन्मिएको पार्टीले छोटो समयमा प्रगति गर्नु ठूला दलका नेताहरुलाई च्यालेन्ज मात्रै नभएर सन्देश पनि भएको उनले बताए । ‘नागरिक उन्मुक्ति पार्टी जेलभित्रबाट जन्मिएको छ । आज यस नागरिक उन्मुक्ति पार्टीले १३ महिनाको दौरानमा स्थानीय तहदेखि केन्द्र सरकारमा छौं । नेपालमा नेतृत्व गरिरहेको ठूला दलका नेताहरुलाई यो च्यालेन्जमात्रै होइन अब झुठा कुरा गर्न पाइँदैन भन्ने सन्देश दिएको छ,’ उनले भने ।

अहिले नेतृत्वमा हरेका नेताहरु नागरिकको सेवामा भन्दा पनि आफ्ना सन्तानहरुलाई कसरी पुस्तौंसम्म कमाइदिन सकिन्छ भनेर लागिपरेको उनले आरोप लगाए । उनले सांसद अरूण चौधरीलाई षड्यन्त्रपूर्ण ढंगले फसाइएको बताए । उनले रेशम चौधरीलगायत भर्खरै पक्राउ परेका अरुणको रिहाइका लागि माग गरे । आफूहरुको माग सुनुवाइ नभएमा दवाबमूलक प्रर्दशन गर्ने उनले बताए । अरुण चौधरीलाई राज्यले तत्काल रिहाइ नगरे आन्दोलन छेड्ने उनको चेतावनी छ । आजको कार्यक्रममा राप्रपा नेपालका संस्थापक समूहका नेताहरु लाम्पा तमाङ, पासाङ शेर्पा, तेजबहादुर भुजेल, रामदास गोपाली, समिरा तमाङ, कृष्ण भण्डारी, सुरेश, राजेश्वर दास श्रेष्ठ, राजु नापित, सुरेश योञ्जन, इनउ प्रकाश चौधरी, समीर लिङ्देनलगायत नेकपा (माओवादी समाजवादी समाज) का केन्द्रीय सदस्य रमेश महते पार्टी प्रवेश गरेका छन् ।
कार्यक्रमको सञ्चालन नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य राजेश अधिकारीले गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्