Logo

रास्वपालाई गगनको प्रश्न– सरकारबाट बाहिरिँदा समर्थन फिर्ता किन नलिएको ? (भिडियोसहित)



काठमाडौं, २५ माघ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिदा पनि समर्थन फिर्ता नलिएकोमा आपत्ति जनाएका छन् । काठमाडौंमा आयोजित ‘अबको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल’ विषयक विचार गोष्ठी कार्यक्रममा बोल्दै उनले कांग्रेसलाई किन विश्वासको मत दिएको भन्नेहरुले सरकारबाट बाहिरिदा समर्थन फिर्ता नलिनुको कारण बताउने बेला आएको बताएका हुन् । ‘अहिले सरकार छाड्दै गर्दा सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने होइन । सहमति पालना नगर्ने अनि समर्थन फिर्ता किन नलिएको ? हामीलाई विश्वासको मत किन दिएको भनेजस्तै समर्थन फिर्ता किन नलिएको भन्ने प्रश्न उठ्दैन ? कि राष्ट्रिय स्वतन्त्र पार्टीलाई चाहीँ प्रश्न सोध्नै नहुने हो ?’ उनले भने ।

रास्वपाले सरकारबाट बाहिरिँदै गर्दा विभिन्न राजनीतिक दल र मिडिया सञ्चालक, प्रकाशक, सम्पादक र पत्रकारलगायतलाई आक्रोश पोखेको तर्फ लक्षित गर्दै उनले रास्वपाले प्रधानमन्त्रीसँग रिसाउनु पर्नेमा अरुसँग रिसाएको बताए । रास्वपाले आफूहरु सरकारमा जानु र सरकारबाट बाहिरिनुको कारण जनतालाई स्पष्ट पार्न नसकेको उनको आरोप छ । ‘सरकारमा किन गएको पनि भन्नु नपर्ने अनि सरकारमा गएको पार्टी सरकारबाट किन बाहिरिएको ? सरकारबाट बाहिर किन गएको भन्दै गर्दा हामीसँग भएको सहमति पालना भएन । सहमति कसले पालना नगरेको ? प्रधानमन्त्रीले पालना नगर्नु भएको । सबैभन्दा रिसाउनु पर्ने प्रधानमन्त्रीसँग होइन ?’ उनले प्रश्न गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot