Logo

हामीले रबरस्ट्याम्प राष्ट्रपति बनाउन खोजेको होइन– प्रदीप पौडेल



काठमाडौं, २५ माघ । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले कांग्रेसले मात्रै संविधानको रक्षा र राष्ट्रको अभिभावकत्व निर्वाह गर्नसक्ने दाबी गरेका छन् । आज (बुधबार) काठमाडौंमा आयोजित ‘अबको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले संविधानको रक्षा, राष्ट्रको अभिभावकत्व र अतिवादकोे अन्त्य गर्नसक्ने संस्कार कांग्रेससँग मात्रै भएको बताएका हुन् ।

‘नेपालको संविधानलाई रक्षा गर्ने, नेपालको अभिभावक हुन सक्ने, अतिवादलाई अन्त्य गरेर सबैलाई जोड्न सक्ने क्षमता राष्ट्रपतिमा हुनुपर्छ । त्यो संस्कार कांग्रेसले मात्रै देखाउन सक्छ भनेर हामीले राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी दिन खोजेका हौं,’ उनले भने ।

कांग्रेसले आगामी राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार उठाउने उनले बताए । कांग्रेसले संविधानलाई भड्काउने प्रवृत्तिलाई राष्ट्रपति बनाउन नचाहेको उनको भनाइ छ । ‘हामीले राष्ट्रपतिमा निर्वाचन लड्छौ भनेर त्यसै भनेको होइन । हामीले रबर स्ट्याम्पलाई राष्ट्रपति बनाउन खोजेको होइन । हामीले नेपालको संविधान भड्काउने प्रवृत्तिलाई राष्ट्रपति बनाउन खोजेको होइन,’ उनले भने ।

साथै, उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको संसद्मा भएको सम्बोधनतर्फ लक्षित गर्दै अहिलेको संसद् चुनावी सभाजस्तो भएको टिप्पणी गरेका छन् । दलका शीर्ष नेताले संसद्मा बोल्दा सामन्य कुराको पनि ख्याल नगरेको उनको आरोप छ ।

 

 

 

 



प्रतिक्रिया दिनुहोस्