Logo

अहिलेको सरकारको नीति मालिक खुसी पार्ने, जनतालाई विषाक्त चिज खुवाएर मार्ने : ओली



काठमाडौं, २० फागुन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ छिमेकी खुसी पार्न लागिपरेको आरोप लगाएका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा ओलीले भारतीय तरकारीको विषादी परीक्षण रोक्न प्रधानमन्त्री आफैं लागिपरेको भन्दै आपत्ति जनाएका हुन् ।

मालिक खुसी पार्नका लागि प्रचण्डले नेपाली जनताको भान्छाभान्छामा विषादीयुक्त तरकारी पठाएको उनको आरोप छ । ‘अहिले सरकारमा बस्नेहरुमा कुनै लाजसरम छैन । हाम्रा भान्छाभान्छामा विषादीयुक्त चिज आउन दिने । मालिक खुसी हुन्छन् कि हुँदैनन् त्यत्ति हो कुरा । मालिक खुसी हुन्छन् भने नेपाली मरेर के भयो ?’– उनले भने ।

प्रधानमन्त्री प्रचण्डको आदेशमा भारतबाट आउने तरकारीमा विषादीको मात्रा परीक्षण गर्न छाडिएको उनको आरोप छ । संयन्त्र भएसम्म परीक्षण गरेर मात्रै तरकारी भित्र्याउन पर्ने उनले बताए ।

‘नेपालीको भान्सामा विषादी आएर के भो भन्ने तर्कले अहिले प्रधानमन्त्रीजीको आदेशमा सब्जी, तरकारीको विषादीको कुनै जाँचबुझ गर्न पाइने छैन । हामीसँग संयन्त्र नहुनु बेग्लै कुरा हो, भएजति त जाँच्नु पर्यो नि ? छिमेकी खुसी पार्ने, अरु खुसी पार्ने, बाह्य शक्तिलाई खुसी पार्ने आफ्ना जनतालाई विषाक्त चिज खुवाएर मार्ने ! यस्तो नीति रहेको छ,’– ओलीले भने ।



प्रतिक्रिया दिनुहोस्