Logo

छात्रावास निर्माण अधुरै



पाँचथर, २६ फागुन । पाँचथरको फाल्गुनन्द गाउँपालिका–६ मेहेलबोटेस्थित जयनारायण आदर्श माध्यमिक विद्यालयको निर्माणाधीन प्राविधिक छात्रावास अधुरै छ । उक्त भवन तीन वर्षअघि निर्माण थालिएको हो । निर्माण पूरा नभएको छात्रावासको स्वामित्व कसैले लिएका छैनन् ।

उक्त विद्यालयमा सञ्चालित प्राविधिक शिक्षाका विद्यार्थीको बसोबास तथा ब्यवसाय सञ्चालनमार्फत विद्यालयको आम्दानी वृद्धिका लागि प्रदेश सरकारले रु ८५ लाखको लागतमा छात्रावास निर्माण थालेको थियो । उपभोक्ता समितिमार्फत सञ्चालित निर्माण न त उद्देश्यअनुसार हुन सक्यो, न निर्माण नै पूरा भयो । जयनारायण आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रकाश आचार्यका अनुसार विद्यालयको माथिल्लो भागमा रहेको उत्तर–यासोक सडकसँगै जोडेर भवन निर्माण गर्ने योजना बनाइएको थियो । सडकबाट सिधा पर्ने गरी माथिल्लो तलमा सटर निर्माण गर्ने तथा तल्लो तलामा छात्रावास सञ्चालन गर्ने योजनाअनुसार भवन निर्माण थालिएको थियो ।

सडकसँग जोडिएका विद्यालयका पुराना संरचना हटाई सोही स्थानमा नयाँ संरचना निर्माण गर्नुपर्ने भए पनि उपभोक्ता समितिले ती संरचनाभन्दा तल विद्यालयको खेलमैदानमा छात्रावास निर्माण सुरु गरेको हो । निर्माण भएको भवन न छात्रावासका लागि प्रयोग गर्न उपयुक्त बनेको छ न त व्यवसाय सञ्चालन हुनसक्ने अवस्थामा नै छ । छात्रावास बनाउने भनिएको ठाउँमा पुराना संरचना यथावत छन् भने भवन खेलमैदानको बीचमा बनाइँदै छ । उपभोक्ता समितिले बजेट अभाव भन्दै कामबाट हात झिकेको छ ।

विसं २०७६ कात्तिक ७ गते कोशी प्रदेशका तत्कालीन आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले उक्त भवनको उद्घाटन गरेको थियो । उद्घाटनपछि भवन निर्माण सक्न कसैको ध्यान गएको छैन । “पूरा गर्न जनप्रतिनिधिलाई आग्रह गर्दै आएका छौँ । कतैबाट पनि बजेटको व्यवस्था भएको छैन”, प्रअ आचार्यले भने।

अठार महिनाको सिभिल सबओभरसियरको पठनपाठन हुने उक्त विद्यालयमा टाढाका विद्यार्थीलाई बसोबासका लागि निर्माण गरिएको छात्रावासमा शौचालय, भान्साघरलगायत अत्यावश्यक संरचना अझै बनेका छैनन् । उपभोक्ता समितिले लागतको २० प्रतिशत श्रमदान जुटाउनुपर्ने भए पनि नसक्दा लागत नपुगेको आचार्यले बताए । “कमजोर गुणस्तरका कारण पानी चुहिने अवस्था छ”, उनले भने । भवन उपभोक्ता समितिमार्फत निर्माण गरिँदै थियो । विद्यालयमा २०६९ सालदेखि सिभिल सबओभरसियरको कक्षा सञ्चालन हुँदैआएको छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot