Logo

कांग्रेस एक साताभित्रै सरकारमा जान्छः रिजाल



काठमाडौं, २९ फागुन । नेपाली कांग्रेसका प्रभावशाली नेता एवं सांसद रमेश रिजालले निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको सात वर्षे कार्यकाल असफल रहेको टिप्पणी गरेका छन् ।
‘विद्यादेवी भण्डारीले पार्टीको गोटीको काम गर्नुभयो । संविधानभन्दा बाहिर गएर काम गर्नुभयो । संविधान र लोकतन्त्रको अनुकूल काम गर्नुभएन । त्यसैले उहाँको कार्यकाल असफल रह्यो,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने । भण्डारी एमालेको राजनीतिमा फर्कने कि नफर्कने उनकै स्वतन्त्रता भएको पनि रिजालले औंल्याए ।
सांसद रिजालले रामचन्द्र पौडेलको भूमिका तटस्थ रहने विश्वास व्यक्त गरे । उनले भने, ‘उहाँ ज्यादै पुरानो नेता हो । प्रजातन्त्रका लागि लडेको नेता हो । संविधान निर्माणमा महत्त्वपूर्ण भूमिका छ । उहाँबाट प्रजातन्त्रको स्थायित्व र संविधानको रक्षा हुने मलाई विश्वास छ । उहाँले पार्टीबाट राजीनामा गरिसक्नुभयो । उहाँको तटस्थ भूमिकामा कुनै शंका छैन ।’
उपराष्ट्रपतिमा आठ दलीय उम्मेदवार रामसहायप्रसाद यादव नै भएको उनले बताए । रिजालले भने, ‘उपराष्ट्रपतिमा जसपाको उम्मेदवार नै आधिकारिक हो । सहमति रामसहायप्रसाद यादवलाई नै बनाउने हो । जनमत पार्टीको उम्मेदवारी व्यक्तिगत हिसाबले भएको पनि उनले बताए । रिजालले थपे, उम्मेदवारी दिने अधिकार सबैलाई छ । तर जनमत पार्टी नौ दलीय गठबन्धनमा छ । सम्भवतः अन्तिम दिनसम्म उम्मेदवारी झिक्नुहुन्छ होला ।’
नेपाली कांग्रेस ९, १० वटा मन्त्रालय लिएर एक साताभित्र सरकारमा जाने पनि उनले बताए । रिजालले भने, ‘सरकारमा जाने गृहकार्य सुरु भएको छ । तर कुनै निर्णय भइसकेको छैन । पार्टीले जसको आवश्यकता देख्छ, सरकारको नेतृत्व उसैले गर्छ ।’



प्रतिक्रिया दिनुहोस्