Logo

प्रकाशमान, विमलेन्द्र वा शेखरमध्ये एकजनाले कांग्रेसको नेतृत्व गर्नुहुन्छः बस्नेत



काठमाडौं, १ चैत । नेपाली कांग्रेसका प्रभावशाली नेता एवं सांसद मोहनबहादुर बस्नेतले सरकारले विश्वासको मत लिनेबित्तिकै आफ्नो पार्टी सरकारमा सामेल हुने बताएका छन् ।
‘चैत ५ गते लिने विश्वासको मत लिने कुरा भइरहेको छ । त्यसपछि ६ वा ७ गते मन्त्रिपरिषद् विस्तार होला । गठबन्धनमा नौ वा दस दल छन् । आन्तरिक कुरा मिलेसम्म धेरैजसो दल सरकारमा सामेल हुने स्थिति छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै बस्नेतले भने ।
कांग्रेस नेता बस्नेतले संसद्मा आआफ्नो स्ट्रेन्थ अनुसार मन्त्रालयको संख्या लिने पनि बताए । उनले थपे, ‘अहिलेसम्म यति उति चाहिन्छ भनेर निर्णायक कुराकानी भएको छैन । संसद्मा स्ट्रेन्थ अनुसार मन्त्रालयको संख्या लिने त हो नि ।’
कांग्रेसबाट सरकारको नेतृत्व कसले गर्छ भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, ‘उपसभापति पूर्णबहादुर खड्काले सरकारमा जान्नँ भनिसक्नुभएको छ । मैले बुझेसम्म प्रकाशमान सिंह, विमलेन्द्र निधि र डा. शेखर कोइराला मध्ये कोही जानु होला । यसलाई शीर्ष नेता लगायत सभापतिज्युले टुंग्याउनु होला ।’
तपाईंले पनि मन्त्रीको बाजी मार्ने चर्चा छ नि भन्ने अर्को प्रश्नमा बस्नेतले भने, ‘मैले मन्त्रीको बाजी मार्नेभन्दा विगतमा स्वास्थ्य र सञ्चार मन्त्रालय चलाएको हुँ । अप्ठ्यारो ठाउँबाट जितेर आएको छु । वार्ताकारहरुको कमीकमजोरीका कारण टुटेको गठबन्धनलाई जोड्न पनि लागें । मन्त्री बनाउने वा नबनाउने पार्टीका शीर्ष नेताहरुको दृष्टिकोणमा भर पर्छ ।’
नेता बस्नेतले रेशम चौधरीको रिहाइ कानुनी प्रक्रिया भएकाले केही समय लाग्न सक्ने औंल्याए । साथै उनले गठबन्धनको वैमनस्यता भन्दा पनि मधेस प्रदेशको आन्तरिक राजनीतिका कारण उपराष्ट्रपतिमा दुइटा उम्मेदवार बनेको दाबी गरे ।

 



प्रतिक्रिया दिनुहोस्