Logo

विद्यार्थीको उमेरजन्य जोस, जाँगरलाई गुन्डागर्दी भन्न मिल्दैनः शंकर भण्डारी



काठमाडौं, ५ चैत । नेपाली कांग्रेसका नेता एवं सांसद शंकर भण्डारीले विश्वविद्यालयमा राजनीतीकरण गम्भीर समीक्षाको विषय भएको बताएका छन् ।
‘परिवर्तन र अधिकार प्राप्तिका लागि नेविसंघ लगायतका विद्यार्थी संगठनको भूमिका सराहनीय छ । विद्यार्थीको हक हित र शैक्षिक सुधारका लागि स्ववियुको व्यवस्था गरिएको हो । तर आज राजनीतिको मात्र थलो भएको छ । राजनीतिक तहमा गम्भीर समीक्षाको विषय हो । राजनीतिक रुपमा उपलब्धि पाइसकेको अवस्थामा अबको भूमिका शैक्षिक सुधारका लागि नै हुनुपर्छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै भण्डारीले भने ।
नेता भण्डारीले स्ववियुको टिकट वितरणमा नेताहरुको हस्तक्षेप नभएको दाबी गरे । उनले भने, ‘यो बाहिरी हल्ला मात्र हो । यसमा कुनै सत्यता छैन । आजका सयौं नेताहरु विद्यार्थी राजनीतिको पृष्ठभूमिबाट आएका हुन् । त्यस आधारमा भनिएको होला । हामीले नेविसंघलाई यथोचित संगठित गर्न सकिरहेका छैनौं । केन्द्रीय नेतृत्व नै एउटा व्यक्तिले गरेको छ । कलेजमा समिति निर्माण भएको छैन । पार्टीका तर्फबाट कमजोरी भएको छ । पूर्व विद्यार्थी नेता भएकाले कतिपय कलेजमा सम्झाइबुझाइ वा सहजीकरण गरेको मात्र हो ।’
विद्यार्थीमा भएको उमेरजन्य जोस र जाँगरलाई गुन्डागर्दी भन्न नमिल्ने पनि भण्डारीले भने । उनले भने, ‘उमेरका हिसाबले विद्यार्थी भनेका जोसिला हुन्छन्, महत्त्वाकांक्षी हुन्छन् । त्यसैले उनीहरुको भूमिकालाई गुन्डागर्दी भनिहाल्न मिल्दैन ।’



प्रतिक्रिया दिनुहोस्