Logo

संसद्को संख्याका आधारमा कांग्रेसले ९ वटा मन्त्रालय पाउनुपर्ने होः रमेश लेखक



काठमाडौं, ८ चैत । नेपाली कांग्रेसका प्रभावशाली नेता एवं संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले गठबन्धनको सरकार गठन र सञ्चालन कठिन काम भएको बताएका छन् ।
‘अहिले धेरैजसो मन्त्रालय प्रधानमन्त्रीको मातहत छ । सरकारले संसदलाई बिजिनेस दिन सकेको छैन । त्यसैले चाँडोभन्दा चाँडो मन्त्रिपरिषद् विस्तार गर्नुपर्ने अवस्था छ । गठबन्धनको सरकार गठन, पुनर्गठन र सञ्चालन कठिन काम हो । सरकारमा जाने इच्छा सबै दलको रहन्छ । त्यसैले सम्मानजनक हिसाबले सबैलाई समेटेर मन्त्रालय बाँडफाँड गर्नुपर्छ । जतिसुकै कठिन भए पनि यो काम त गर्नैपर्छ नि,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै लेखकले भने ।
मन्त्रिपरिषद्मा कांग्रेसले सक्षमता र योग्यताका आधारमा मन्त्री पठाउने पनि उनले बताए । लेखकले थपे, ‘पहिले पहिले जस्तो प्रधानमन्त्रीलाई जति मन लाग्यो, त्यति वटा मन्त्रालय वा मन्त्री बनाउने अवस्था छैन । संविधानमै सीमा तोकिएको छ । अहिले म यतिउति संख्या भनिरहेको छैन । तर संख्याका आधारमा पाउने हो भने हाम्रो ८९ सिट छ । १० सिटको पार्टीले एउटा मन्त्रालय पाउने हो भने कांग्रेसले ९ वटा त पाउनुपर्ने हो । नेपाली कांग्रेस गठबन्धनको सबैभन्दा ठूलो दल हो । कांग्रेस जिम्मेवार भएर अघि बढेमात्र गठबन्धन अघि बढ्छ ।’
जोसुकै नागरिकको जुनसुकै बेला फोन टेप गर्ने कुरा कांग्रेसले नमान्ने पनि लेखकले बताए । उनले भने, ‘कांग्रेस यो विधेयकको पक्षमा गएका छैन । हिजो पनि हामीले हुँदैन भनेका थियौं । अहिले सरकारमा सहभागी नभएकाले यसमा कांग्रेसलाई मुछ्नु आवश्यक छैन । कांग्रेस व्यक्तिगत स्वतन्त्रताका लागि लडेको पार्टी हो । कांग्रेसले व्यक्तिगत स्वतन्त्रता र लोकतान्त्रिक मूल्य मान्यतामा सम्झौता गर्दैन । राज्यले कसैको व्यक्तिगत जीवनमा प्रवेश गर्न पाउँदैन ।’

कांग्रेस कसको नेतृत्वमा सरकारमा जाँदै छ भन्ने पत्रकार धमलाको प्रश्नमा लेखकले भने, ‘नेतृत्व गरेपछि थाहा भइहाल्छ नि । मलाई अहिले थाहा छैन । थाहा नभएको कुरा कसरी भन्ने ?’



प्रतिक्रिया दिनुहोस्