Logo

‘बीपी, गिरिजा र सुशील कोइरालाको इतिहास मेट्न कांग्रेसकै एउटा गिरोह लागिरहेको छ’



काठमाडौं, ८ चैत । राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता गिरिजाप्रसाद कोइरालाको राजनीतिक योगदानलाई विस्मृतिमा राखेको आरोप लगाएका छन् ।
‘गिरिजाप्रसाद कोइरालाको १३ औं स्मृति दिवसका अवसरमा हिजो काठमाडौैंको अनमोल फुडल्यान्डमा महामन्त्रीको उपस्थितिमा एउटा मात्र कार्यक्रम भयो । कांग्रेस पार्टीले कुनै औपचारिक कार्यक्रम गरेन । तर उहाँ पार्टीले सम्झनुपर्ने ऐतिहासिक पुरुष हो । शेरबहादुर देउवाको टिमले उहाँलाई सम्झनु पर्ने कारण ठानेन होला र गिरिजाप्रसादलाई विस्मृतिमा राखियो । त्यो बेइमानी हो । तर आजको राजनीतिक भूमि गिरिजाप्रसादको बुढो काँधले स्थापित गरेको हो,’ प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै आचार्यले भने ।
गिरिजाप्रसाद कोइरालाको राजनीतिक व्यक्तित्वलाई खुम्च्याउनुपर्ने कुनै पनि कारण नभएको उनले औंल्याए । उनले भने, ‘कांग्रेसमा दुइटा विश्वविद्यालय छन् । एउटा कोइरालाविरोधी छ । भारतमा नेहरुको इतिहास मेट्न बीजेपी लागिरहेको छ, नेपालमा पनि बीपी, गिरिजा र सुशील कोइरालाको इतिहास मेट्न एउटा गिरोह लागिरहेको छ ।’
कांग्रेसीहरु बलेको आगो तापिरहेको टिप्पणी पनि उनले गरे ।  आचार्यले भने, ‘२०६२-६३ को जनआन्दोलनको नेतृत्व गिरिजाप्रसादले गर्नुभयो । संसद् फिर्ता भयो । माओवादी द्वन्द्वको शान्तिपूर्ण अवतरण भयो । गणतन्त्र आयो । उहाँ ६ दशकभन्दा बढी लोकतन्त्रका लागि लडेको नेता हो । ‘सेतो बाघ’ उपन्यास पढ्दा जंगबहादुरको जयजय, जगतजंगको जयजय भन्नेहरु नै शमशेरको जय होस्, जंगको नाश होस् भन्न थालेको थाहा हुन्छ । कांग्रेसीहरु पनि बलेको आगो नै ताप्छन् ।’

 



प्रतिक्रिया दिनुहोस्