Logo

गण्डकीमा नयाँ सरकार बनाउने कसरतमा कांग्रेस–माओवादी



काठमाडौं, ९ चैत्र । राष्ट्रपति चुनावमा पुरानै गठबन्धन ब्युँतिएपछि गण्डकी प्रदेशमा पनि सत्ता समीकरण फेरिने सङ्केत देखिएको छ । गठबन्धनमा सामेल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले नयाँ सरकार बनाउन आन्तरिक कसरत थालेका छन् । केन्द्रीय समीकरणमा आएको फेरबदलसँगै प्रदेश सरकार पनि फेरिने स्थिति बनेको हो । अहिले गण्डकी प्रदेशको सरकार नेकपा (एमाले) को नेतृत्वमा छ । माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा गत पुस २५ गते एमालेका खगराज अधिकारी मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

कांग्रेसको गण्डकी प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्र पाण्डेले माओवादी केन्द्रले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिनासाथ नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने बताए । ‘प्रदेश सरकारको नेतृत्व बाँडफाँटबारे गठबन्धन दलको शीर्ष तहमा छलफल भइरहेको छ, एक÷दुई दिनभित्रैमा त्यसको टुङ्गो लाग्ला । गण्डकीमा पनि माओवादीले सरकार छाडेर समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार अर्को सरकार बनाउने प्रक्रिया सुरु हुन्छ,’– उनले भने ।

आठ प्रदेशसभा सदस्य (सभामुखसहित) रहेको माओवादी केन्द्रले समर्थन फिर्ता लिनासाथ अहिलेको सरकार अल्पमतमा पर्छ । सरकारलाई माओवादीसहित एमालेका २२ र राप्रपाका दुई प्रदेशसभा सदस्यको समर्थन छ । साठी सदस्यीय प्रदेशसभामा राप्रपाले मात्र समर्थन फिर्ता लिँदा पनि सरकारले बहुमत गुमाउँछ ।

सङ्घ र अरु केही प्रदेश सरकारबाट हटेको राप्रपाले गण्डकीबाट भने अझै बाहिरिने निर्णय गरेको छैन । गण्डकी सरकारमा मुख्यमन्त्रीसहित एमालेका चार, माओवादी केन्द्रका दुई र राप्रपाका एक मन्त्री छन् ।

कांग्रेस संसदीय दलका नेता पाण्डेले आफूहरु माओवादी निर्णयको पखाईमा रहेको बताए । ‘पहिले माओवादीले सरकार छोड्नुप¥यो, समर्थन फिर्ता लिनुप¥यो । त्यसपछि मुख्यमन्त्रीसँग दुई वटा विकल्प बाँकी रहन्छन्, कि राजीनामा दिने नत्र ३० दिनभित्र विश्वासको मत लिनुपर्छ,’– उनले भने ।

विश्वासको मत पाउन नसक्ने स्थितिमा मुख्यमन्त्रीले राजिनामा दिनु उत्तम हुने नेता पाण्डेको भनाइ छ । राजीनामा नदिएको खण्डमा संवैधानिक व्यवस्थाअनुसार प्रक्रिया अघि बढ्ने उनले बताए ।

संविधानले नै एक महिनाभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था गरेपछि प्रदेशसभाको विशेष अधिवेशन डाक्नुको औचित्य नरहने नेता पाण्डेले उल्लेख गरे ।

प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री एवं माओवादी केन्द्रको संसदीय दलका नेता हरिबहादुर चुमानले केन्द्रमा सत्ता समीकरण फेरिएपछि त्यसको प्रभाव प्रदेशमा पनि स्वाभाविकरुपमा पर्ने बताउछन् ।

‘सङ्घ सरकारबाट हटे पनि प्रदेशबाट एमाले हटेको छैन, तर यो अवस्था अब धेरै दिन रहँदैन । हामी पनि केन्द्रको निर्देशन कुरेर बसिरहेका छौँ, माओवादीले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएपछि स्वाभाविकरुपमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्छ,’– उनले भने ।

नेता चुमानले दुई पटक एमाले र एक पटक कांग्रेसको नेतृत्वमा सरकार बनाउन माओवादीले भूमिका खेलेको भन्दै अबको मुख्यमन्त्रीमा आफूहरुको दाबी रहने बताए ।

‘माओवादीले मुख्यमन्त्री पाउनुपर्छ, यो स्वाभाविक दाबी हो, यसपाली कांग्रेसले हामीलाई सघाउनुपर्छ । आलोपालो नेतृत्वमा जाँदा पछि कांग्रेसले पाउँछ, अहिले माओवादीलाई दिनुपर्छ,’– उनले भने ।

गण्डकी प्रदेश सरकारको नेतृत्व लिने विषयमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटेर कुरा राखेको नेता चुमानले बताए । ‘सरकारलाई विधि र प्रणालीमा चलाउन हामी सक्षम छौँ, मुख्यमन्त्रीको नेतृत्व लिन म तयार छु,’– उनले भने ।

उता नेपाली कांग्रेस पनि पहिले आफ्नै नेतृत्वमा सरकार बनाउने गृहकार्यमा रहेको छ । २७ सदस्यसहित कांग्रेस प्रदेशसभाको सबैभन्दा ठूलो दल हो । कांग्रेस संसदीय दलका नेता पाण्डेले गण्डकी प्रदेश सरकारको नेतृत्व कांग्रेसले नै गर्ने बताए । ‘सरकारको नेतृत्व कांग्रेस र माओवादीले आलोपालो गर्ने गरी ठोस सहमति त भएको छैन, तर आलोपालो हुन सक्छ,’– पाण्डेले भने ।

 

 



प्रतिक्रिया दिनुहोस्