Logo

प्राकृतिक चिकित्सालय निर्माण सुरु



वालिङ, १० चैत । स्याङ्जाको गल्याङ–१ मालुङ्गा उत्तरबाहिनीमा प्राकृतिक चिकित्सालयको भवन निर्माण थालिएको छ । प्राकृतिक चिकित्सा पद्धतिबाट गरिने उपचार प्रभावकारी बन्दै गएपछि दीर्घकालीन रोगका बिरामीलाई सेवा दिने उद्देश्यले चिकित्सालयको निर्माण थालिएको हो ।

चिकित्सालयको बिहीबार नेपाली कांग्रेसका केन्द्रीय उपसभापति एवं प्रतिनिधिसभा सदस्य धनराज गुरुङले शिलान्यास गर्नुहुदै निर्माणाधीन भवन समयमै सम्पन्न हुने विश्वास व्यक्त गरे । उहाँले चिकित्सालयको थप व्यवस्थापनका लागि आफूले पहल गर्ने प्रतिबद्धता जनाएको थियो ।

आकस्मिक र भाँच्चिएका वा तत्कालै सेवा लिनुपर्नेबाहेकका दीर्घकालीन रोगका बिरामीको उपचारलाई लक्षित गरी चिकित्सालय निर्माण थालिएको कालीगण्डकी प्राकृतिक अस्पतालका संरक्षक एवं कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानका अध्यक्ष चैतन्य कृष्णले बताए ।

एलोपेथिक उपचारभन्दा फरक तरिकाले औषधिको प्रयोगबिना नै विभिन्न रोगको प्राकृतिक पद्धतिद्वारा उपचार गरिने उनले जानकारी दिए । “औषधिविहीन विभिन्न पद्धतिको प्रयोग गरेर उपचार गर्नका लागि चिकित्सालय निर्माण थालिएको हो”, अध्यक्ष कृष्णले भने, “पछिल्लो समय प्राकृतिक चिकित्सा पद्धति प्रभावकारी हुँदै जाँदा दीर्घकालीन रोगका बिरामी यस पद्धतिमार्फत उपचार गर्न आकर्षित भएका छन् ।”

फिजियोथेरापी, अङ्कुपञ्चर, अङ्कुप्रेसर, मसाज, पञ्चतत्व, योग, स्टिमबाथलगायतका पद्धतिमार्फत बिरामीलाई उपचार गरिने उनले बताए । सहरी विकास मन्त्रालय काठमाडौँ तथा गल्याङ नगरपालिकाको रू दुई करोड १२ लाखको लागतमा चिकित्सालय निर्माण हुने भएको हो ।

आगामी असार मसान्तसम्म निर्माण सम्पन्न हुने उक्त चिकित्सालय पहिलो चरणमा एक तलाको हुनेछ । कुल १२ कोठा र दुईवटा ट्रस हुने अध्यक्ष कृष्णले बताए । चिकित्सालय निर्माण भएसँगै उपचारका लागि टाढा–टाढा जानुपर्ने बाध्यता हट्ने भएपछि स्थानीय खुसी छन् ।

उक्त चिकित्सालय कालीगण्डकी नदीको किनारमा अवस्थित ४२ रोपनी क्षेत्रफलमा फैलिएको छ । प्राकृतिक चिकित्सा पद्धतिबाट हुने उपचार विशेषगरी दीर्घकालीन समस्या भएका बिरामीलाई बढी प्रभावकारी हुने गरेकाले आकर्षण बढ्दै गएको छ । रासस



प्रतिक्रिया दिनुहोस्