Logo

प्रचण्डसँग पूर्णबहादुर खड्काको रसायन मिल्छः डा. नारायण खड्का



काठमाडौं, १६ चैत । नेपाली कांग्रेसका प्रभावशाली नेता एवं सांसद डा. नारायण खड्काले गठबन्धनलाई टिकाउनु चुनौतीपूर्ण रहेको बताएका छन् ।
‘भन्न त हामी सबै जनताको सेवा र सुविधाका निम्ति लडेको भन्छौं । तर राजनीतिको चुरोमा सत्ता नै छ । सबैलाई सत्ता चाहिएको छ, राम्रो र ठूलो मन्त्रालय चाहिएको छ । हामीकहाँ भारत, युरोपका स्क्यान्डेभियन मुलुकमा जस्तो संयुक्त सरकारको सुसंस्कृत अभ्यास छैन । त्यसैले गठबन्धनलाई एकताबद्ध बनाएर राख्नु निकै चुनौतीपूर्ण छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै डा. खड्काले भने ।
जनतामा निराशा बढ्दै गएकाले सरकारले सावधानीपूर्वक काम गर्नुपर्ने पनि उनले औंल्याए । डा. खड्काले भने, ‘सरकारहरु आउने, जाने भइरहेको छ । जनतामा राम, श्याम, घनश्याम जो आए पनि केही हुन्छ भन्ने आशा मर्दै गएको छ । यसले बृहत् आकार लियो भने देश अत्यन्त अप्ठ्यारो अवस्थामा पुग्छ । ठूला र उत्ताउला कुरा गरेर सामाजिक सञ्जालमा भाइरल हुने जमाना छ । नेपाल आर्थिक र राजनीतिक भुमरी अनि भूराजनीतिक परिवेशको चपेटामा छ । त्यसैले सरकारले सावधानीपूर्वक काम गर्नुपर्छ ।’
प्रधाननमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कांग्रेससँग सहकार्य गर्न सजिलो हुने पनि उनले दाबी गरे । डा. खड्काले भने, ‘पुस १० मा प्रचण्डजी प्रधानमन्त्री हुनुभयो । उहाँ केपी ओलीको घेराबन्दीमा पर्नुभयो । उकुसमुकुसमा दुई महिना बिताउनुभयो । उहाँसँग महत्त्वपूर्ण मन्त्रालय नै थिएनन् । त्यसैले कांग्रेस काम गर्न सजिलो, उदारवादी र सहनशील पार्टी भन्ने महसुस गरेर फेरि सहकार्यको हात बढाउनुभयो ।’
कांग्रेस नेता डा. खड्काले गठबन्धन निर्माणमा माधव नेपालको पार्टीको योगदान भएकाले जेन्युन मन्त्रालय पाऊँ भन्नु स्वाभाविक भएको पनि बताए । उनले कांग्रेस ठूलो पार्टी भए पनि सबै ठूलो मन्त्रालय आफैंसँग राख्ने मानसिकतामा नरहेको उनको भनाइ छ । कांग्रेस कसको नेतृत्वमा सरकारमा जाँदै छ भन्ने पत्रकार धमलाको प्रश्नमा डा. खड्काले भने, ‘समावेशी प्रतिनिधित्वको कुरा छ, प्रदेशगत प्रतिनिधित्वको कुरा पनि छ । उपसभापति पूर्णबहादुर खड्काजी विगतमा प्रचण्ड, माधव नेपाल लगायत नेताहरुसँग बारम्बार वार्तामा संलग्न भएकाले उहाँको रसायन मिल्छ । सबै कुरा सभापतिजीले टुंग्याउनु होला ।’
सरकारको न्यूनतम साझा कार्यक्रममा युवा बेरोजगारी, मूल्यवृद्धि र सुशासनका कुरा समेटिनुपर्ने पनि उनले औंल्याए । पूर्व परराष्ट्रमन्त्री समेत रहेका डा. खड्काले प्रधानमन्त्री प्रचण्डले भारतसँग विश्वासको वातावरण बनाउनुपर्ने औंल्याए । उनले भने, ‘प्रधानमन्त्री चाँडै भारत जाँदै हुनुहुन्छ । भारतसँगको समस्या मित्रवत् तरिकाले सम्बोधन गर्न खोज्नुपर्छ । परस्परमा विश्वासको वातावरण नबनाए संवाद गर्न कठिन हुन्छ । हामीले उत्ताउलो नारा लगाएर वा उग्र राष्टवादी देखाएर भन्दा एकअर्काका मुद्दामा संवेदनशील भएर अगाडि बढ्नुपर्छ ।’



प्रतिक्रिया दिनुहोस्