Logo

एकदुई जनाले पार्टी छाड्दैमा केही फरक पर्दैनः कांग्रेस नेता



काठमाडौं, १७ चैत । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री भीमसेनदास प्रधानले पार्टी सभापति शेरबहादुर देउवा झन् झन् शक्तिशाली हुँदै गएको बताएका छन् ।
‘पहिले पार्टीमा तीनचारवटा समूह थिए । अहिले दुइटा समूह मात्र छन् । डा. शेखर कोइरालाको समूहबाहेक कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह र रामचन्द्र पौडेल समूह समाहित भएपछि देउवा समूह झन् शक्तिशाली भएको छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै प्रधानले भने ।
जनता चौतर्फी रुपमा आहत भएकाले सरकार राहत दिने काममा लाग्नुपर्ने उनले औल्याए । प्रधानले थपे, ‘मन्त्री भएपछि जनताको काम गर्न सकिन्छ भन्ने एउटा धारणा हो । तर रकम बढी भएको मन्त्रालय खोज्नु वा मलाई यही चाहिन्छ भन्नु खराब हो । मन्त्रिपरिषद् भनेको प्रधानन्त्रीको टिम हो । जनता धेरै कुरामा आहत छन् । अब जनतालाई राहत दिने काममा लाग्नुपर्छ ।’
पार्टी छाड्ने अर्थशास्त्री स्वर्णिम वाग्लेको निर्णय सही नभएको पनि प्रधानले बताए । उनले भने, ‘उहाँ कांग्रेसमा धेरै अवसर पाएको मनिस हो । उहाँभन्दा पुराना साथीहरुले कुनै अवसर पाएका छैनन् । त्यो ठूलो कुरा हो नि । उहाँ कुनै पनि आन्दोलनमा सक्रिय हुुनुहुन्थेन । यति हतारिएर जानु भनेको सही निर्णय होइन । उहाँ हठी कांग्रेस हुनुभो ।’
पार्टीमा परिवारवाद हावी भएको पनि उनले औंल्याए । प्रधानले भने, ‘हो, पार्टीमा परिवारवाद हावी छ । काठमाडौंको मेयरमा पनि त्यस्तै भयो । पार्टीमा अवसर परिवारवादभन्दा योगदानमा आधारित हुनुपर्छ । तर कुनै व्यक्तिविशेषको कारणले पार्टी छोड्न उहाँजस्तो बौद्धिक व्यक्तिलाई सुहाउँदैन ।’ साथै उनले एउटा दुइटा मान्छे जाँदा पार्टीलाई केही फरक नपर्ने पनि बताए ।
कार्यक्रममा उनले रिपोर्टर्स क्लब नेपालको रजत महोत्सवको अवसरमा शुभकामना पनि दिए । प्रधानले कुनै कुनै पदमा नपुगीकन राष्ट्रिय र अन्तर्राष्ट्रिय पहिचान बनाउन सक्नु क्लबका अध्यक्ष ऋषि धमलाको विशेषता भएको पनि औंल्याए ।



प्रतिक्रिया दिनुहोस्