Logo

रिपोर्टर्स क्लब नेपालको रजत महोत्सव : मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार मात्रिका पौडेललाई प्रदान



काठमाडौं, १७ चैत्र । रिपोर्टर्स क्लब नेपालले विभिन्न पत्रकारिता पुरस्कार प्रदान गरेको छ। क्लबले आज (शुक्रबार) आफ्नो स्थापनाको २५औं वार्षिकोत्सव (रजत महोत्सव) को अवसरमा आयोजित विशेष समारोहमा ती पुरस्कार प्रधानमन्त्री पुष्पकमल दाहालको हातबाट प्रदान गरिएको हो ।

जननेता मदन भण्डारीको नामबाट स्थापित एक लाख राशिको मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार नेपाल प्रेस डटकमका प्रधान सम्पादक मात्रिका पौडेललाई प्रदान गरिएको छ । नेपालको पत्रकारिता क्षेत्रमा पत्रकार पौडेल विगत तीन दशकयता निरन्तर सक्रिय छन् । प्रिन्ट, अनलाइन र टेलिभिजन मिडियामार्फत अभूतपूर्व क्षमता देखाएर दूरदराजका गाउँसम्मका नागरिकलाई सुसूचित गराउन भूमिका खेल्दै आउएकाले क्लबले सो पुरस्कार प्रदान गरेको जनाएको छ ।

यस्तै, नेपालको आर्थिक क्षेत्रको सम्मानित ब्यक्तित्व स्वर्गिय तेजेन्द्र खड्का र सुन्तली खड्काको नामबाट स्थापित तेजेन्द्र–सुन्तली खड्का स्मृति आर्थिक पत्रकारिता पुरस्कार–२०७९ बाट आर्थिक अभियान राष्ट्रिय दैनिक एवम् न्यू विजनेश एज (मासिक) का प्रधान सम्पादक मदन लम्साललाई प्रदान गरिएको छ ।

नेपालको आर्थिक र व्यवसायिक पत्रकारिताको क्षेत्रमा विगत तीन दशकभन्दा लामो समयदेखि निरन्तर सक्रिय रहेका लम्सालले छापा र अनलाइन मिडियामार्फत अभूतपूर्व क्षमता देखाएर दूरदराजका गाउँसम्मका नागरिकलाई सुसूचित गराउन महत्वपूर्ण भूमिका खेल्दै आएका छन् । सो क्रममा पत्रकार लम्सालले उक्त पुरस्कारबाट प्राप्त राशि एक लाख रुपैयाँ राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गरेका छन् । सभामुख देवराज घिमिरेमार्फत आविष्कार केन्द्रका वरिष्ठ चाटर्ड एकाउन्टेन्ट हरि सिलवालको हातमा प्रदान गरिएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot