Logo

रामपुर क्याम्पसमा नेविसंघको उपस्थिति विना नै स्ववियु निर्वाचन भएको कांग्रेसको आरोप



काठमाडौं, १८ चैत्र । नेपाली कांग्रेसले चितवनको रामपुर कृषि क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन निष्पक्ष नभएको भन्दै आपत्ति जनाएको छ । रामपुर कृषि क्याम्पसमा क्याम्पस प्रमुख र निर्वाचन समितिका संयोजकले अमुख विद्यार्थी संगठनको पक्षपोषण हुने गरी नेपाल विद्यार्थी संघको उपस्थितिविना नै मतदान र मतदानको नजिता सार्वजनिक गरेको आरोप लगाएको हो ।

पार्टी मुख्य सविच कृष्णप्रसाद पौडेलले आज विज्ञप्ति जारी गर्दै भनेका छन्– ‘२०७९ चैत्र १७ गतेका दिन रामपुर कृषि क्याम्पस, खैरहनी, चितवनमा क्याम्पस प्रमुख र निर्वाचन समितिका संयोजकले अमुख विद्यार्थी संगठनको पक्षपोषण हुने गरी क्याम्पसमा क्रियाशील अन्य विद्यार्थी संगठनसँगको कुनै समन्वय विना मतदानको सूचना प्रकाशित गरी निर्वाचन गराएको विषयप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ ।’

नेपाल विद्यार्थी संघको उपस्थिति विना क्याम्पस प्रशासन र निर्वाचन अधिकृतको मिलोमतोमा अनेरास्ववियु र अखिल क्रान्तिकारीको संयुक्त गठबन्धनले बुथ कब्जा गर्दै एकलौटी मतदान गरी निर्वाचनको नतिजा घोषणा गरिएको विज्ञप्तिमा उल्लेख छ ।

उक्त अवैधानिक कार्यको विरोध गर्दा, क्याम्पस प्रशासनको ठाडो आदेशमा प्रहरीले निर्मम तवरले पिट्दा नेविसंघका तर्फबाट स्ववियु सभापतिका उम्मेदवार रहेका आशिष देवकोटा लगायतका विद्यार्थी घाइते भएको कांग्रेसले जनाएको छ ।
कांग्रेसबाट स्ववियु सभापतिका उम्मेदवार रहेका देवकोटा निवर्तमान ईकाई अध्यक्ष सुरज यादव गम्भीर घाइते भई चितवन मेडिकल कलेजमा उपचार भैरहेको बताइएको छ ।

घटनाको यथार्थ छानविन गरी अवैधानिक रुपमा गरिएको निर्वाचन रद्द गर्न सम्बद्ध सबै पक्षसँग कांग्रेसले माग गरेको छ । साथै, घाइते विद्यार्थीहरुको उचित उपचारको प्रबन्ध गर्न पनि माग गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्