Logo

नेपालीको आशा र भरोसा रास्वपा नै हो– खरेल



काठमाडौं, १८ चैत्र । नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेल औपचारिक रुपमा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन् । रास्वपा केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनकाबीच उनलाई पार्टी प्रवक्ता डा. मुकुल ढकालले पार्टीको लोगो लगाइदिएर पार्टी प्रवेश गराएका हुन् ।

पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै खरेलले नेपाललाई अहिले विभिन्न क्षेत्रबाट कुशासनले गाँजेको उनको भनाई छ । कुशासनलाई चिर्नका लागि एक भएर उभिनु पर्ने आवश्यकता देखेकाले आफू रास्वपामा आएको उनको स्पष्टोक्ति छ ।

‘नेपाल आमा रोइरहेकी छिन् । नेपाल आमालाई अप्ठ्यारो भइरहेको छ । नेपाल आमालाई हरेक क्षेत्रमा कुशासनले अप्ठ्यारो भइरहेको छ । यस्तो बेलामा हाम्रो राष्ट्रका लागि र नेपाल आमाका लागि नयाँ शिराबाट एक ठाउँमा उभिन सकेनौं भने हामीले व्यापक कुशासनलाई चिर्न सक्दैनौं,’– उनले भने ।

अहिलेको अवस्थामा कायम रहेको कुशासनलाई अन्त्य गर्नका लागि देशभक्त शक्तिहरु एक ठाउँमा आउन आवश्यक रहेको उनले बताए । सुशासन र सामाजिक न्याय कामय राख्न नसके नेपालको अस्तित्व संकटमा पर्ने अवस्था सिर्जना हुने उनको भनाई छ ।

‘देशमा सुशासनको विकल्प छैन । देशमा कानुनी राज्यको विकल्प छैन । हिमाल, पहाड र तपाईका दाजुभाई दिदी बहिनीहरुलाई सामाजिक न्याय हामीले दिलाउन सकेनौं भने नेपाल राष्ट्र जोगिने हो कि हैन भन्ने कुरामा प्रश्न चिन्ह आएको छ । अहिलेको अवस्थामा सुशासन कायम गर्नका लागि हामी एक ठाउँमा उभिनु पर्ने अवस्था सिर्जना भएको छ,’– उनले भने ।

सुशासन कायम गराए र कानुनी राज्यको स्थापना गर्न नसकेसम्म देश अल्मलिरहने उनको भनाई छ । अब अल्मलिन नेतृत्वलाई छुट नभएको उनले बताए । देशको समृद्धिका लागि नेपाललाई नयाँ तरिकाबाट अगाडि बढाउन एक ठाउँमा उभिएर एक साथ राजनीतिक सिन्डिकेटलाई तोड्न आवश्यक रहेको उनले बताए । अहिले देशका विभिन्न ठाउँमा भ्रमणका क्रममा आफूले नेपाली जनताको आशा र भरोसाको रुपमा रास्वपालाई पाएको उनले बताए ।

‘मैले हिमाल, पहाड तराईमा भ्रमण गरेर हेर्दाखेरी यो देशको आशा र देशको भरोसा, हामीलाई मोटिभेटेड गर्ने एउटै पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी हो,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्