Logo

कांग्रेस नेतालाई धमलाको प्रश्न– शेखर कोइराला समूहलाई तीनवटा मन्त्रालय दिने कि नदिने ?



काठमाडौं, २३ चैत । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री आनन्दप्रसाद ढुंगानाले पार्टी सभापति शेरबहादुर देउवाले गरेको मन्त्रीको भागबन्डा शेखर कोइराला–गगन थापा समूहले मान्नुपर्ने औंल्याएका छन् ।
‘डेमाक्रेटिक पार्टीमा सानातिना मनमुटाव स्वाभाविक हो । मन्त्रालयमा करिब करिब कुरा मिलिसकेको छ । व्यक्तिको कुरा होइन, पार्टीको कुरा हो । सभापतिले यति उति भन्ने भाषा बोल्नुभएको छैन । सभापतिले आवश्यकता अनुसार दिएको नाम सबैले मान्नुपर्छ । बाँकी मन्त्रीको नाम पठाउने काम आज वा भोलि हुन्छ, छिटो हुन्छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै ढुंगानाले भने ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरे पनि सरकारले अझै पूर्णता पाएको छैन । गठबन्धनको सबैभन्दा ठूलो घटक नेपाली कांग्रेसभित्रको असमझदारीका कारण प्रधानमन्त्रीले ६ वटा मन्त्रालय सम्हाल्नु परिरहेको छ । कांग्रेसको संस्थापन पक्षले कोइराला समूहलाई दुईवटा मन्त्रालय दिन खोजे पनि उसले मानेको छैन । बाँकी मन्त्रीको नाम पठाउन कांग्रेस सभापति देउवालाई प्रधानमन्त्रीले भेटेरै ताकेता गरिरहेका छन् ।
छिटोभन्दा छिटो प्रक्रियागत रुपमा सबैलाई समेट्नुपर्छ भन्नेमा सभापति विश्वस्त रहेको पनि ढुंगानाले बताए । उनले भने, ‘अहिले नै मन्त्री पाइएन भनेर दुःखी हुनु आवश्यक छैन । यो संसद्को कार्यकाल पाँच वर्षको हो । हतारिनुपर्ने वा पहाड खस्ने अवस्था छैन । फेरि मौका आउँछ । कांग्रेस अरु पार्टीजस्तो होइन । करवा कर दिया चले भाइ चलदिया भनेजस्तो होइन । हामी उपचुनावअघि नै मन्त्री पठाउने कोसिस गर्छौं ।’
नेपाली कांग्रेस गठबन्धनको सरकार सफल पार्न लागिरहेको पनि उनले दाबी गरे । ढुंगानाले थपे, ‘नेपाली कांग्रेसका निम्ति सत्ता महत्त्वपूर्ण हाइन, डेलिभरी महत्त्वपूर्ण हो । हामीले काम गरेका पनि छौं, गर्छौं पनि । सरकारलाई मिलेर सफल पार्ने हो । त्यसैले हामी उपचुनावमा पनि गठबन्धनका साथ हिँडेका छौं ।’ अब जनताले गठबन्धनका उम्मेदवारहरुलाई नै जिताउनुपर्ने पनि उनले बताए ।



प्रतिक्रिया दिनुहोस्