काठमाडौं, ८ जेठ । नेकपा (एमाले)का सचिव तथा सांसद् योगेश भट्टराईले सोमबार सरकारले ल्याएको नीति तथा कार्यक्रममा ‘जनयुद्ध’ शब्द उल्लेख भएकोप्रति संसद्मै आपत्ति जनाए।
‘जनयुद्ध’ शब्दप्रति उनको आपत्तिलाई तत्कालै प्रतिनिधिसभामा माओवादी केन्द्रका सचिव तथा सांसद् देवेन्द्र पौडेलले जवाफ फर्काए। त्यसको केहीसमय नबित्दै कांग्रेस नेतालेपनि सचिव भट्टराई आपत्तिमाथि प्रतिउत्तर दिएका छन्।
सचिव भट्टराईले संसद्मा बोल्दै ‘आज मेरा केही प्रश्न नेपाली कांग्रेसप्रति छ। सम्बोधन (नीति तथा कार्यक्रम) को पहिलो नम्बर बुँदामा हाम्रो असहमति छ। यहाँ विगतमा भएका आन्दोलनहरूको व्याख्या गर्दै जनयुद्ध भन्ने शब्द पनि उच्चारण भएको छ। यो विषयमा संविधानसभामा पर्याप्त बहस भएको हो। २०७२ सालको संविधानपछि नेपालका कुनै पनि सरकारी दस्तावेजहरूमा यो शब्द उल्लेख भएको छैन। पहिलोपटक प्रधानमन्त्री पुष्पकमल दाहालजीले यो शब्द राष्ट्रपतिको मुखबाट वाचन गर्न लगाउनुभएको छ,’ भनेका थिए।
भट्टराई बोले लगत्तै माओवादी सचिव पौडेलले संसद्बाटै उनको अभिव्यक्तिमाथि असहमति जनाए। उनले भने, ‘यो जनयुद्धको बारेमा माननीयज्यूलाई एकपटक डिक्सनरी पल्टाएर हेर्न आग्रह गर्न चाहन्छु। यो माछा युद्ध थियो? भालु युद्ध थियो? जंगलका अर्नाहरू लडेका थिए कि रुख र ढुंगाहरू लडेका थिए? मानिसले लडेको युद्धलाई कि जनआन्दोलन भनिन्छ कि जनयुद्ध भनिन्छ। मानिसका छोराहरू लडेको युद्ध थियो। नेपाली जनतालाई सार्वभौम बनाउन, संविधानसभाबाट संविधान बनाउनका निम्ति जनयुद्ध लडिएको थियो। म हजारपटक आँखा जुधाएर बहस गर्न तयार छु, आउनुस् बहस गर्न।’
ततपश्चात् कांग्रेस नेता तथा पूर्व रक्षामन्त्री डा मिनेन्द्र रिजालले फेसबुकमा स्टाट्स लेख्दै सचिव भट्टराईले कांग्रेसमाथि लगाएको आरोप खण्डन गर्दै जवाफ फर्काएका छन्।
रिजालले लेखेका छन् :
माननीय योगेश भट्टराईलाई अध्ययन मननका लागि : उहाँको पार्टी एमाले समेत सहभागी सरकारले २०६५/६६ मा संसदमा प्रस्तुत गरेर पारित ‘जनयुद्ध’ पदावली लेखिएको नीति तथा कार्यक्रमका सुरूका केही पृष्ठ।
स्मरणका लागि सो शब्द हटाइयोस् भन्ने मेरो संशोधन प्रस्ताव एमाले समेतको मतबाट अस्वीकृत भएको थियो।




प्रतिक्रिया