काठमाडौँ । महान् पर्व बडादशैँ मनाउन आ-आफ्नो गृहजिल्ला तथा गाउँघर पुगेका सर्वसाधारण पुनः काठमाडौँ उपत्यका फर्किने क्रम तीव्र बनेको छ। दशैँको टीका र जमरा ग्रहण गरेसँगै सुरु भएको उपत्यका भित्रिने क्रम सोमबारदेखि कार्यालय तथा वित्तीय संस्था नियमित रूपमा सञ्चालनमा आउने भएसँगै झनै बढेको हो।
दशैँ बिदा सकिएर नियमित कामधन्दा र सेवा प्रवाह सुरु हुने भएपछि उपत्यका प्रवेश गर्ने प्रमुख नाकाहरूमा यात्रु तथा सवारी साधनको चाप उच्च देखिएको छ। विशेषगरी उपत्यकाको मुख्य प्रवेशद्वार मानिने नागढुङ्गाका साथै कलङ्की, बालाजु, कोटेश्वर र बल्खु क्षेत्रमा सवारी साधनको लामो लाइन र यात्रुको बाक्लो उपस्थिति छ। त्यसैगरी, देशका विभिन्न भागबाट आउने लामो दूरीका सवारी साधनका कारण नयाँ बसपार्क क्षेत्रमा पनि सर्वसाधारणको उल्लेख्य भिडभाड बढेको छ।
बडादशैँको अवधिमा अधिकांश नागरिक गाउँघर फर्किएपछि उपत्यकाका सडक, बजार र गल्लीहरू सुनसानप्रायः बनेका थिए।




प्रतिक्रिया