किसानको रोजाइमा नगदेबाली


बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–३ धम्जाका वडा अध्यक्ष कुलबहादुर बिकलाई आजभोलि आलु भित्र्याउने भ्याइनभ्याई छ । उनी बिहानबेलुका बारीमा लगाएको आलु उकेल्छन्, दिनभरी वडा कार्यालयबाट जनताको सेवा गर्छन् ।
उनले जस्तै वडाका किसानले बारीमा लगाएको बर्खे आलुको फसल लिने बेला भएको छ । धम्जाका किसान आलुको व्यवसायीक खेती गर्छन् । यहाँको आलु स्थानीय र बाह्य बजारमा लोकप्रिय छ । हिउँदमा बारीमा आलु लगाउने र बर्खामा कोदो, मकै लगाउने किसानको परम्परा हो । तर आजभोली किसानको परम्परा फेरिएको छ ।
आलु निकालेपछि मकै र कोदोले भरिने बारी आजभोली नगदेबालीले भरिन्छन् । चिसो मौसम भएकाले यहाँ खाद्यान्न बाली ढिलो पाक्छ । दुई खेती उब्जाउन कठीन हुने बारीमा नगदेबाली खेती थालेपछि किसानले राम्रो आम्दानी गर्न थालेका छन् ।
“पहिले बारीमा आलुपछि मकै लगाइन्थ्यो, अहिले त बन्दाका बिरुवा तयार भएका छन्, सिमीको बीउ किनेर राखिएको छ”, वडाध्यक्ष कुलबहादुर बिकले भने, “अहिले लगाएको बन्दा असोजमा तयार हुन्छ, बजार मूल्य राम्रो पाउँछ ।” असोजमा बन्दा र सिमीको फसल लिएपछि पुनःआलु लगाउन बारी तयार हुने उनले बताए ।
यहाँका किसानले आलु साटेर खाद्यान्नको जोहो गर्थे । आजभोली आलुको विक्रीबाट हुने आम्दानीने घर खर्च चल्छ । सिमी र बन्दा, काउलीको विक्रीबाट हुने आम्दानीले खाद्यान्न पुग्छ । “हामीले नगदेबाली लगाउन थालेपछि आम्दानी हुन थालेको छ,” किसान ज्ञानकुमार छन्त्यालले भने, “असिनाले बेला बेला सताउँछ तर मकै, कोदो लगाउँदाभन्दा नगदेबाली लगाउदा लगानी र आम्दानीमा धेरै फरक परेको छ ।”
वडा कार्यालयले ‘एक घर एक टनेल’ कार्यक्रम सञ्चालन गरेको छ । टनेलमा गरिने खेतीले किसानलाई थप सहयोग गरिरहेको छन्त्यालले बताए । वडाले हालसम्म १९७ टनेल अनुदानमा उपलव्ध गराएको छ । चालु आर्थिक वर्षमा मात्रै ८२ वटा टनेल वितरण गरिएको वडाध्यक्ष विकले बताए ।
असिना प्रभावित क्षेत्र भएकाले धम्जामा ‘हाइटेक नेट जाली’को परीक्षण गर्न लागिएको उनले बताए । यो परीक्षण सफल भएमा किसानको बाली जोगाउन थप सहयोगी बन्ने छ । कृषि क्षेत्रमा आएको परिवर्तनबाट वडाध्यक्ष बिक प्रभावित छन् । उनी आफू पनि कृषि उत्पादनमा लागेका छ भने वडाबासीलाई पनि कृषिमा प्रोत्साहन गर्ने गरेका छन्।
विद्यालय र समुदायस्तरमा उपभोक्ता सचेतना 
राष्ट्रिय उपभोक्ता मञ्च, बागलुङ नगरपालिकाले विद्यालय र समुदायस्तरमा उपभोक्ता सचेतना थालेका छन् । विद्यालय उमेरका बालबालिका र समुदाय आफैँ सचेत भए मात्रै उपभोक्ता अधिकार स्थापित हुने भन्दै विद्यालय र समुदायमा सचेतना कार्यक्रम थालिएको हो ।
उपभोक्ता मञ्चले मङ्गलबार नगरपालिकाको सहयोग र जिल्ला प्रशासन, प्रहरी, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयको समन्वयमा मुलपानी माध्यमिक विद्यालयमा ‘एक दिने उपभोक्ता शिक्षा तथा लागुऔषध दुव्यसनसम्बन्धी सचेतना कार्यक्रम’ सम्पन्न गरेको छ । विद्यार्थीलाई उपभोग्य वस्तु, उपभोक्ता अधिकारबारे जानकारी दिने र लागुऔषध दुव्यसनबाट बचाउन सचेतना कार्यक्रम आयोजना गरिएको उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्र श्रेष्ठले बताए ।
“बालबालिकाले बुझे आफू जोगिन्छन् र उनीहरुमार्फत् सचेतना अभिभावकसम्म पुग्छ,” उनले भने, “हामप्ले अखाद्य वस्तु र लागुऔषधबाट बालबालिका जोगाउन जरुरी छ ।” सचेतना कार्यक्रममा विद्यालयको ६ देखि १२ कक्षासम्मका एक सय जना विद्यार्थीको सहभागी थिए । विद्यार्थीसँगै उनीहरुका अभिभावक र सरोकारवालालाई सचेतना कार्यक्रममा सहभागी गराइएको थियो ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजनका प्रमुख सौरभ श्रेष्ठले उपभोग्य वस्तुको गुणस्तर र मापदण्डबारे जानकारी नहुँदा गम्भीर रोगको सङ्क्रमण हुनसक्ने खाद्यवस्तुसमेत उपभोक्ताले प्रयोग गरिरहेको बताए । श्रेष्ठले सकेसम्म घरमै उत्पादन भएका खाद्यवस्तुको प्रयोग गर्नुपर्ने र बजारबाट ल्याइएका खाद्यवस्तुको प्रयोग गर्दा उत्पादन मिति, उत्पादक र उपभोग्य मितीको विषयमा जानकारी लिनुपर्ने बताए ।
लागुऔषधसम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बसन्त भुजेलले जानी–नजानी बालबालिका दुव्र्यसननमा फसेको भन्दै अभिभावक सचेत बन्नुपर्ने बताए । लागुऔषध दुव्र्यसनमा फसेका बालबालिकालाई पुरानै अवस्थामा फर्काउन कठीन हुने भन्दै भुजेलले दुव्र्यसनले मानिसलाई शारीरिक, मानसिक र सामाजिकरुपमा क्षति पुर्याउने बताए ।
भेटिरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङकी पशु प्राविधिक प्रविता अधिकारीले मासुको उपभोगमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए । उनले स्वस्थ्य पशुको मासु मात्रै प्रयोग गर्नुपर्ने बताए । मासुको छनोट र प्रयोग गर्न नजान्दा घातक रोगको सङ्क्रमण हुने गरेको भन्दै अधिकारीले उपभोक्ता अधिकारको प्रयोग गरेर स्वस्थ मासुको प्रयोग गर्न सुझाव दिए ।