Logo

विकसित राष्ट्र गणतन्त्रको कार्यभार : मुख्यमन्त्री पाण्डे



गण्डकी, १५ जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समाजवादोन्मुख अर्थतन्त्रसहितको विकसित राष्ट्र गणतन्त्रको वास्तविक कार्यभार भएको बताएका छन् ।

गणतन्त्र दिवसको उपलक्ष्यमा शुभकामना सन्देश व्यक्त गर्दै उनले जनताको जीवनमा सार्थक र सकारात्मक परिर्वतन ल्याई नेपाललाई सबल, आत्मनिर्भर साथै समाजवादोन्मुख अर्थतन्त्रसहितको विकसित राष्ट्रका रूपमा अघि बढाउनुपर्ने बताए ।

लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई संस्थागत गर्न हाम्रो संविधानले परिकल्पना गरेबमोजिम सङ्घ, प्रदेश र स्थानीय तहको सरकार रहेको उल्लेख गर्दै सन्देशमा हरेक तहका सरकारको जनताप्रति आ–आफ्नो उत्तरदायित्व रहेको भनिएको छ ।

“लोकतन्त्रले ल्याएको यो सुन्दर व्यवस्थालाई जनमैत्री र अझै मजबुत बनाउन गण्डकी प्रदेश सरकार दृढ सङ्कल्पका साथ अघि बढिरहेको छ”, मुख्यमन्त्रीले भने, “यो संवैधानिक व्यवस्थाको अवधारणा संस्थागत गर्न सहयोग पुग्ने गरी प्रदेश सरकारले आफ्ना नीति तथा कार्यक्रम, योजना र बजेट व्यवस्था गरेको छ ।”

संविधानले मौलिक हकका रूपमा व्यवस्था गरेका शिक्षा, स्वास्थ्य, खाद्य सुरक्षा, सरसफाइ, खानेपानी, पर्यावरणलगायत आधारभूत अधिकारलाई व्यवहारिकरूपमा कार्यान्वयन गर्न गणतन्त्र दिवसले हामी सबैलाई उत्साह प्रदान गर्ने मुख्यमन्त्रीले विश्वास व्यक्त गरेका छन् ।

सबै जाति, भाषा, धर्म र समुदायको सुदृढ राष्ट्रिय एकताको बलमा मुलुकलाई सामाजिक, आर्थिक समृद्धिको दिशामा लैजानु आजको राष्ट्रिय आवश्यकता रहेको भन्दै सन्देशमा यस ऐतिहासिक दिवसले मुलुकको भौगोलिक अखण्डता, राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय एकतालाई अझ सुदृढ गर्न सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गरिएको छ । रासस/File Photo



प्रतिक्रिया दिनुहोस्