बैदेशिक रोजगार उद्धार नेपालको १४ औँ बार्षिकोत्सव सम्पन्न


काठमाडौं, जेठ २१ । बैदेशिक रोजगार उद्धार नेपालको १४ औँ बार्षिकोत्सव तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । शनिवार स्टार वैंक्वेट स्वयम्भूमा पूर्व गृहमन्त्री तथा राप्रपा नेपालका वरिष्ठ उपाध्यक्ष प्रतिनिधी सभा सदस्य माननीय बुद्धिमान तामाङको प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बैदेशिक रोजगार सम्बन्धी ठगी, महिला हिंसा, मानव बेचविखन तथा ओसारपसार तथा जातीय विभेद र भ्रष्टाचार विरुद्ध जनचेतना अभिवृद्धि गर्ने पत्रकार, समाजसेवी, अभियन्ता तथा कलाकारहरुलाई सम्मानसमेत गरिएको थियो । सम्मानित हुनेहरुमा रीमा सेवा केन्द्रकी अध्यक्ष रिमा सापकोटा, समाजसेवी सिजन श्रेष्ठ, प्रमिला लामिछाने, नवराज तामाङ, नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजका प्रहरी नायव उपरिक्षक डा. तपनकुमार दाहाल, नेपाल प्रहरी महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र, कालिमाटीका प्रहरी सहायक निरीक्षक कमला थापा, पत्रकार गंगा लामा, प्रकाश समीरलगायत रहेको थियो ।

कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष ईन्द्रलाल गोलेले १४ वर्षको अन्तरालमा वैदेशिक रोजगारको सिलसिलामा विभिन्न विदेशी भूमिमा अलपत्र परेका झन्डै १२–१३ सय मानिसको उद्धार गरेको बताए । उनले १ सय भन्दा बढी लासको उद्धार समेत गरेको भन्दै यस्तो कार्यमा सरकारी स्तरबाट कुनै सहयोग नभएको उल्लेख गरे । आफूले उद्धारको कार्य गर्दा नेपाल प्रहरी तथा माइती नेपालबाट असहयोग भएको भन्दै गोलेले कतिपय अवस्थामा आफूलाई कतै दुःखमा परेका परिवारको आँशुमा बहकिदा, कतै पीडितहरुको उद्धार गर्दा अपराध त गरिन भन्ने अनुभूतिसमेत हुने गरेको बताए । गोलेले आफूले गर्दै आइरहेको अभियानप्रति सहयोग गर्ने सबैलाई धन्यवादसमेत व्यक्त गरे ।

कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि पूर्वगृहमन्त्री बुद्धिमान तामाङले बैदेशिक रोजगार उद्धार नेपालले नेपाल सरकारको श्रम मन्त्रालय, परराष्ट्रमन्त्रालयले गर्नु पर्ने कार्य गरिरहेको उल्लेख गरे । सरकारको जिम्मेवारीलाई संस्थागत हिसावले गरेको कार्यको प्रशंसा गर्दै अध्यक्ष तथा संस्थापक इन्द्रलाल गोलेले आफूलाई बेलाबखत भन्ने गरेको तर, संस्थाको वास्तविकता कार्यक्रममा सहभागि भएर बुझ्न पाएको भन्दै आफूले सकेको सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । तामाङले भने “ यो नेपाल सरकारले गर्नु पर्ने कार्य हो, सरकारका निकायहरुको दायित्वलाई वैदेशिक रोजगार उद्धार नेपालले पूरा गरिदिएको रहेछ, सरकारले यस संस्थासंग हातेमालो गरेर अगाडि बढ्नु पर्छ ।”

त्यस्तै कार्यक्रममा वरिष्ठ अधिवक्ता तथा राजनीतिकर्मी स्वागत नेपाल, पूर्व स्वास्थ्य मन्त्री मणि लामा, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता साजन वि.क., राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको उपाध्यक्ष सिजन श्रेष्ठ, वाईसिएल केन्द्रीय सदस्य नवराज बि.क., राष्ट्रिय युवा संघको केन्द्रीय सदस्य गोमा बिष्ट, युवा संघ नेपालको केन्द्रीय सचिवालय सदस्य विशाल लामालगायतले वैदेशिक रोजगार उद्धार नेपालको कार्यको प्रशंसा गर्दै आफूहरु यस अभियानमा जोडिन तयार रहेको बताएका थिए ।
अध्यक्ष इन्द्रलाल गोलेको सभापतित्वमा सम्पन्न कार्यक्रमको सहजीकरण प्रवक्ता दिपक बि.सी.ले गरेका थिए ।

 

 

 

Skip This

Omoda E5 Pro