अँध्यारोलाई चिरेर उज्यालोतर्फको यात्रा तय गर्न सक्नु नै चाडपर्वको वास्तविक सम्मान हो। किनकि उज्यालो भनेको घरमा दीप प्रज्वलन गर्नु मात्र होइन, समाजमा न्याय, समानता र सद्भावको ज्योति फैलाउनु पनि हो।
अँध्यारोलाई चिरेर उज्यालोतर्फ जान सक्नु नै चाडपर्वप्रतिको सच्चा सम्मान हो । उज्यालो भनेको घरमा बत्ती बाल्नु मात्र होइन, समाजमा न्यायको दीप प्रज्वलित गर्नु पनि हो´ ।
मुलुकमा यतिबेला शुभ दीपावली, छठ तथा नेपाल सम्वत् जस्ता थुप्रै ऐतिहासिक, सांस्कृतिक, धार्मिक र दार्शनिक महत्त्व बोकेका चाडपर्वहरू मनाइँदै छन् । यी पर्वहरू केवल परम्परा निर्वाह गर्ने, रमाइलो गर्ने वा शुभकामना आदानप्रदान गर्ने अवसर मात्र होइनन्, मानव जीवन, सामाजिक सम्बन्ध, सभ्यता, संस्कृति र सामूहिक चेतनासँग गहिरो सम्बन्ध राख्ने उत्सव पनि हुन् ।
तिहार अर्थात् दीपावलीले अन्धकारमाथि उज्यालोको, असत्यमाथि सत्यको र अज्ञानतामाथि ज्ञानको विजयको सन्देश दिन्छ । यो मानव, प्रकृति र जीवजन्तुबीचको सहअस्तित्व, आत्मीयता र पारस्परिक सम्बन्धलाई सम्मान गर्ने कृतज्ञताको उत्सव पनि हो । काग, कुकुर, गाई, गोरु र भाइटीकाका माध्यमबाट प्रकृति, जीवजन्तु र मानवीय सम्बन्धको महत्त्वलाई आत्मसात् गराउने यस पर्वले समाजमा प्रेम, सद्भाव, सहिष्णुता र आपसी विश्वासको भावना अभिवृद्धि गर्छ । छठ पर्व आस्था, निष्ठा, अनुशासन, त्याग र समर्पणको अनुपम प्रतीक हो । सूर्य र प्रकृतिप्रतिको सम्मानसँग जोडिएको यस पर्वले पारिवारिक कल्याण, सन्तान सुख, आरोग्यता तथा मनोकामना पूरा हुने विश्वासलाई अभिव्यक्त गर्छ । यसले मानिसलाई प्रकृतिप्रति कृतज्ञ हुन, आफ्नो कर्मप्रति निष्ठावान् रहन र सामूहिक एकताको भावनालाई बलियो बनाउन प्रेरित गर्छ । त्यसैगरी, नेपाल सम्वत् हाम्रो ऐतिहासिक पहिचान, मौलिकता, राष्ट्रिय स्वाभिमान र सामाजिक चेतनासँग जोडिएको गौरवपूर्ण संवत् हो। यसको ऐतिहासिक पृष्ठभूमिमा सामाजिक समानता, जनकल्याण र सामूहिक हितको भावना जोडिएको छ । धनी-गरिबबीचको विभेद अन्त्य गर्ने, सामाजिक न्याय र समानताको चेतना अभिवृद्धि गर्ने तथा मानिसले आफ्नै आत्मिक र सामूहिक शक्तिलाई पहिचान गर्ने यसको दार्शनिक महत्त्व छ । नेपाल संवत् ले हामीलाई आफ्नो इतिहास, मौलिक संस्कृति र राष्ट्रिय पहिचानप्रति गर्व गर्न पनि सिकाउँछ ।
यी सबै पर्वका आ–आफ्नै विधि, परम्परा, मान्यता र विशेषता छन् । तर तिनको मूल मर्म र सन्देशलाई गहिरिएर बुझ्ने हो भने सार एउटै भेटिन्छ-मानवीय जीवनमा उज्यालो छर्नु, सत्य, न्याय र सदाचारको मार्गमा अग्रसर हुनु, आपसी सद्भाव, सहिष्णुता, भ्रातृत्व र सामाजिक एकतालाई बलियो बनाउनु तथा समृद्ध र सभ्य समाज निर्माणका लागि प्रेरित गर्नु । चाडपर्वले बोकेका यी अर्थ र औचित्यलाई हामीले व्यक्तिगत तथा पारिवारिक जीवनमा मात्र सीमित राख्नु हुँदैन । तिनलाई सामाजिक, आर्थिक र राजनीतिक जीवनसँग समेत जोडेर बुझ्न र व्यवहारमा उतार्न आवश्यक छ । किनकि समाजमा वास्तविक उज्यालो त्यतिबेला मात्र आउँछ, जतिबेला अन्यायको अन्त्य हुन्छ, विभेद हट्छ, नागरिकले समान अवसर पाउँछन् र राज्यका हरेक निकाय जनताप्रति उत्तरदायी बन्छन् । आज हाम्रो मुलुक पनि एउटा महत्त्वपूर्ण राजनीतिक र सामाजिक संक्रमणको चरणबाट गुज्रिरहेको छ । भ्रष्टाचार, कुशासन, दण्डहीनता, अपारदर्शिता, राजनीतिक बेइमानी, अवसरको असमान वितरण र राज्यका निकायप्रतिको कमजोर जनविश्वासजस्ता समस्याले समाजलाई लामो समयदेखि गाँजिरहेका छन् । पछिल्लो जेन–जी आन्दोलनले यिनै विकृति र विसङ्गतिविरुद्ध परिवर्तन, सुशासन, जवाफदेहिता र न्यायको बलियो आवाज उठाएको थियो । आन्दोलनका क्रममा उठेका माग, नागरिकले गरेका अपेक्षा र गुमेका अमूल्य जीवनको सम्मान गर्दै परिवर्तनको वास्तविक मर्मलाई व्यवहारमा रूपान्तरण गर्नु आजको प्रमुख दायित्व हो ।
अँध्यारोमाथि उज्यालोको विजयको कुरा गरिरहँदा राज्य र राजनीतिक नेतृत्व पनि आफ्नो जिम्मेवारीबाट विमुख हुन मिल्दैन। नागरिकले न्याय पाउनुपर्छ, पीडितले न्यायको अनुभूति गर्न पाउनुपर्छ, सार्वजनिक पदमा रहनेहरू जवाफदेही हुनुपर्छ र राज्यका सबै निकाय संविधान, विधिको शासन तथा लोकतान्त्रिक मूल्य–मान्यताअनुसार सञ्चालन हुनुपर्छ। आलोचनात्मक आवाजलाई शत्रु ठान्ने, प्रश्न गर्ने नागरिकलाई निरुत्साहित गर्ने र असहमतिलाई दबाउने प्रवृत्तिको अन्त्य हुनुपर्छ । लोकतन्त्रको वास्तविक सुन्दरता नै नागरिकले स्वतन्त्रतापूर्वक प्रश्न गर्न, आलोचना गर्न र खबरदारी गर्न पाउनुमा निहित छ । हामीले चाडपर्वबाट प्राप्त गर्ने सकारात्मक ऊर्जालाई राष्ट्रिय सहमति निर्माण, सामाजिक असमानताको अन्त्य, आर्थिक समृद्धि, सुशासन र सदाचार कायम गर्ने मार्गमा अग्रसर हुनुपर्छ । आन्दोलनका भावना र मर्मलाई सम्बोधन गर्दै राजनीतिक स्थिरता, संस्थागत सुधार र नागरिकको विश्वास स्थापित गर्ने दिशामा अघि बढ्नुपर्छ । राज्य आतंक, राजनीतिक प्रतिशोध, दण्डहीनता र राजनीतिक गतिरोधको अन्त्य गर्दै जनताको सर्वोच्चता स्थापित गर्नुपर्छ ।
मुलुकका हरेक वर्ग, क्षेत्र, समुदाय, लिङ्ग र पुस्ताका आवाजलाई समान महत्त्वका साथ सुन्न सक्ने राजनीतिक संस्कार विकास गर्न जरुरी छ । असहमति र विविधतालाई कमजोरी होइन, लोकतन्त्रको शक्ति मान्नुपर्छ । नागरिकका जायज मागलाई सम्बोधन गर्ने, अवसरमा समान पहुँच स्थापित गर्ने र राज्यप्रति सबैको अपनत्व सिर्जना गर्ने वातावरण निर्माण गर्नुपर्छ । अन्ततः उज्यालो भनेको घरमा बत्ती बाल्नु मात्र होइन, समाजमा न्यायको दीप प्रज्वलित गर्नु पनि हो । उज्यालो भनेको सडक र सहर झिलिमिली बनाउनु मात्र होइन, नागरिकको जीवनबाट अभाव, अन्याय, विभेद र निराशाको अन्धकार हटाउनु पनि हो । समृद्धि भनेको भौतिक विकास मात्र होइन, सम्मानपूर्वक बाँच्न पाउने वातावरण, समान अवसर, सामाजिक न्याय र उत्तरदायी शासन व्यवस्था पनि हो । त्यसैले, यस वर्षका चाडपर्वलाई केवल उत्सव र शुभकामनामा सीमित नराखौँ। यी पर्वले दिएका सकारात्मक सन्देशलाई व्यवहारमा उतार्ने संकल्प गरौँ। आपसी वैमनस्यता त्यागौँ, सामाजिक एकता बलियो बनाऔँ, राष्ट्रिय स्वाभिमानको रक्षा गरौँ र न्यायपूर्ण, समतामूलक तथा समुन्नत नेपालको निर्माणमा एकताबद्ध भएर अघि बढौँ।
आउनुहोस्, निराशा, अन्योल, असहजता, अभाव र अन्यायका अँध्यारा क्षणहरूलाई चिर्दै आशा, विश्वास, न्याय र सम्भावनाको उज्यालोतर्फ अघि बढौँ । मुलुकको वर्तमानलाई उज्यालो बनाउँदै भावी पुस्ताका लागि सुन्दर, सभ्य र स्वर्णिम भविष्य निर्माण गरौँ।
हामीलाई हाम्रा चाडपर्वहरूले दिइरहेको बलियो सन्देश यही हो,अँध्यारो चिरेर उज्यालोतर्फ अघि बढौँ।
शुभ दीपावली, छठ तथा नेपाल सम्वत् मंगलमय शुभकामना!




प्रतिक्रिया