Logo

कान्छो पत्रकार दाबी गर्ने सुजन आचार्यले ३९ जनालाई विदेश पठाउँछु भनेर १० करोड ठगेको भन्दै पीडितहरुले मागे न्याय (विज्ञप्तीसहित)



काठमाडौं, २२ जेठ । नेपालका कान्छो पत्रकार भनेर चिनिने सुजन आचार्यले देशका विभिन्न जिल्लाका ३९ जना युवाहरुलाई विदेश लैजानु भनेर ठगेको खुलासा भएको छ । उदयपुर त्रियुगा नगरपालिका वडा नम्बर १० स्थायी घर भइ हाल सिंगापुरमा बस्ने सुजन आचार्यले आफ्नै प्रेमिका बिनु शाक्य र सानिामाको छोरा (भाइ) सृजन निरौलालगायतलाई परिचालन गरी आफूहरुलाई ठगेको पीडित युवाहरुको आरोप छ।

उनीहरुले आज (सोमबार) काठमाडौंमा पत्रकार सम्मेलन गरेर आचार्यले सिंगापुरमा आफ्नै कम्पनीमा आकर्षक तलबसुविधासहित रोजगारी दिने आश्वासन दिएको सुनाए । आचार्यले सिंगापुरमा महिनाको ३ हजार सिंगापुर डलर देखि ४८ सय सिंगापुर डलरसम्म कमाई हुने भनी २०७९ सालको विभिन्न समयमा आफूहरुसँग प्रतिव्यक्ति पाँच लाख रुपैयाँदेखि २० लाखसम्म असुलेको पीडितहरुको दाबी छ ।

उनीहरुले सबैसँग गरी आचार्यले कुल १० करोड रुपैयाँ ठगी गरेको दाबी गरे । पीडितहरुमध्ये धेरै सुजनकी प्रेमिका भनिने बिनु शाक्यको नेपालस्थित् ईन्भेष्टमेन्टको बैंक खातामा पैसा हालिदिएको उनीहरुको दाबी छ । हाल बिनु सिंगापुरमै लुकेर बसेको उनीहरुको भनाई छ । सुजनका सानिमाका छोरा (भाइ) सृजनलाई भने प्रहरीले पक्राउ गरिसकेको छ ।

यस्तै, प्रहरीले बिनु र सुजनको नाममा पनि पक्राउ पुर्जी जारी गरेको छ । पीडितहरुले आचार्यले नेपालमा नेता, मन्त्रीदेखि पुलिसका हाकिमहरुलाई समेत आफूले पैसा दिने गरेको दाबी गर्दै आएकोले सजिलै र बेलैमा आफूहरुले न्याय पाउनेमा भने आशंका लागेको गुनासो पोखेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot