Logo

पूर्व परराष्ट्रमन्त्री पौडेलको प्रचण्डलाई प्रश्न : दौरा सुरुवाल लगाएर प्रधानमन्त्रीको अगाडि मोबाइलले फोटो खिच्न मिल्छ कि मिल्दैन ?



काठमाडौं,२४ जेठ । राष्ट्रिय सभाको बैठक अहिले जारी रहेको छ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो चार दिने भारत भ्रमणको उपलब्धी सदनमा जानकारी गराउने र सांसदहरुले प्रधानमन्त्रीलाई प्रश्न सोध्ने कार्यसूची रहेको छ ।

आजको बैठकमा प्रधानमन्त्रीलाई प्रश्न गर्दै नेकपा एमालेकी सांसद डा.बिमला राई पौड्यालले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा कूटनीतिक मर्यादाको ख्याल किन गरिएन भन्दै प्रश्न गरेकी छन् ।

प्रधानमन्त्रीलाई दुइवटा प्रश्न सोधेकी पौड्यालले नेपाल भारत प्रभुद्ध व्यक्ति समूह(इपीजी)को प्रतिवेदन बारे भारतलाई जानकारी नगराइएकोमा जवाफ माग गरेकी छन् । त्यस्तै प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा राष्ट्रिय पोषाक लगाएर कूटनीतिक मर्यादा विपरित मोबाइलबाट फोटो खिचेको विषयमा सरकारको जवाफ माग गरिन् ।

यस्तो थियो पूर्व परराष्ट्रमन्त्रीसमेत रहेकी पौड्यालको प्रधानमन्त्रीलाई प्रश्न,

अफिसियल र कूटनीतिक राहदानी लिएर भारत भ्रमणका निस्किएको जम्बो टोलीमा आधिकारिक फोटोग्राफर थिए कि थिएनन् ? दौरा सुरुवाल टोपी लगाएर गएका मान्छेले प्रधानमन्त्रीको अगाडि बसेर मोबाइलले फोटो खिच्न मिल्छ कि मिल्दैन ? यो कुटनीतिक मर्यादा हामीले कहिले सिकाउने र हामीले कहिले सिक्ने ?

इपीजीको कुरा उठाउँदा माहोल बिग्रन्छ भनेर कुरा उठाइंन भन्नुभयो प्रधानमन्त्रीज्यू कुरा उठाउँदा माहोल बिग्रने त्यो अचम्मको पोको के हो ? हामी जनताले कहिले हेर्ने? सांसद्ले कहिले हेर्ने ?



प्रतिक्रिया दिनुहोस्