Logo

फ्रान्सेली राजदूतको नाइजरबाट बहिर्गमन



नियामे (नाइजर), १० असोज । नाइजरका लागि फ्रान्सका राजदूतले बुधबार बिहान राजधानी नियामे छोडेको फ्रान्सेली कूटनीतिक स्रोत र नाइजेरियाली सरकारी स्रोतले बताएका छन् ।

पश्चिम अफ्रिकी देश नाइजरमा सैनिक विद्रोहपछि सेनाले सत्ता कब्जा गरेसँगै फ्रान्सेली राजदूतलाई देश छाड्न निर्देशन दिइएको थियो । यद्यपि उनले उक्त निर्देशनको पालना नगरेपछि उनलाई राजदूतावासमा नै बन्दी बनाइएको थियो ।

नियामेस्थित फ्रान्सेली दूतावासको कूटनीतिक स्रोतका अनुसार राजदूतसहित छ जना सहकर्मी विमान चढेर विमान चाडतर्फ प्रस्थान गरेका छन् । नाइजरको गृह मन्त्रालयले पनि फ्रान्सेली राजदूतको बहिर्गमनको पुष्टि गरेको छ ।

गत आइतबार फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले नाइजरबाट राजदूत सिल्भेन इट्टेलाई फिर्ता बोलाइने घोषणा गरेका थिए ।

गत जुलाई २६मा प्रजातान्त्रिक रूपमा निर्वाचित राष्ट्रपति मोहम्मद बाजुमलाई अपदस्थ गरी सेनाले सत्ता हत्याएकामा फ्रान्सले त्यसको कडा विरोध गर्दै निर्वाचित सरकारलाई मात्र आफूले मान्यता दिने बताएको थियो । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot