प्रधानमन्त्री बालेनको भारत भ्रमण आजदेखि, स्वागतका लागि दिल्लीमा नेपाल–भारतका झण्डा राखियो


काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भारतको दुईदिने राजकीय भ्रमणका लागि आज दिउँसो नयाँदिल्ली प्रस्थान गर्दैछन्। प्रधानमन्त्री पद सम्हालेपछि उनको यो पहिलो विदेश भ्रमण हो।

प्रधानमन्त्री शाहको भ्रमणलाई स्वागत गर्न भारतीय राजधानी नयाँदिल्लीमा विशेष तयारी गरिएको छ। दिल्लीका विभिन्न चोक तथा सार्वजनिक स्थानमा नेपाल र भारतका राष्ट्रिय झण्डा राखिएका छन्। भ्रमणलाई सफल, व्यवस्थित र फलदायी बनाउन भारत सरकार तथा भारतीय विदेश मन्त्रालय सक्रिय रूपमा तयारीमा जुटेका छन्।

प्रधानमन्त्री शाहको स्वागत, सुरक्षा व्यवस्था, कूटनीतिक समन्वय तथा भ्रमणका कार्यक्रम व्यवस्थापनलाई विशेष प्राथमिकता दिइएको छ। भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डेले पनि भ्रमणलाई सफल र उपलब्धिमूलक बनाउन भारतीय पक्षसँग आवश्यक समन्वय गरिरहेका छन्। नेपाली दूतावासले भ्रमणका विभिन्न कार्यक्रम व्यवस्थित बनाउन भूमिका निर्वाह गरिरहेको छ।

भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतका राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ। त्यस्तै, आजै भारतीय विदेशमन्त्री डा. एस. जयशंकरले प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट गर्नेछन्।

प्रधानमन्त्री शाहले सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्नेछन्। उक्त वार्तामा नेपाल–भारत सम्बन्ध, व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायतका विषयमा छलफल हुनेछ।

त्यसैगरी, प्रधानमन्त्री शाहले सोमबार नयाँदिल्लीस्थित राजघाटमा रहेको महात्मा गान्धीको समाधिस्थलमा पुगेर श्रद्धासुमन अर्पण गर्ने कार्यक्रम रहेको छ।

भ्रमणका क्रममा दुई देशबीच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यसँग सम्बन्धित सम्पन्न परियोजनाहरूको उद्घाटन र नयाँ परियोजनाहरूको शिलान्यास गर्ने कार्यक्रमसमेत रहेको छ।

यसका अतिरिक्त शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन तथा मानव संसाधन विकासजस्ता क्षेत्रमा सहकार्य विस्तार गर्ने उद्देश्यले विभिन्न समझदारीपत्र (एमओयू) आदानप्रदान गरिनेछ। यसबाट दुवै देशका प्राथमिकताप्राप्त क्षेत्रमा आपसी सहयोग थप विस्तार हुने अपेक्षा गरिएको छ।

प्रधानमन्त्रीको भ्रमणका क्रममा नेपाल–भारत बिजनेस फोरमको छलफल कार्यक्रमसमेत आयोजना हुनेछ। उक्त कार्यक्रममा भारतीय व्यवसायी समुदायलाई सम्बोधन गर्दै नेपालमा लगानीका अवसर, सरकारले अवलम्बन गरेका नीतिगत व्यवस्था तथा थप लगानी आकर्षित गर्न भइरहेका प्रयासबारे जानकारी गराइनेछ।

भारतीय व्यवसायीका चासो तथा सरोकार सुन्ने र नेपाली तथा भारतीय व्यवसायीबीच सहकार्यको वातावरण निर्माण गर्ने उद्देश्यसमेत कार्यक्रमले राखेको छ।

यसैबीच, भ्रमणको समाचार संकलनका लागि नेपालबाट नयाँदिल्ली पुगेका पत्रकारहरूका लागि पनि विशेष व्यवस्थापन गरिएको छ। भ्रमणका गतिविधि सहज रूपमा सम्प्रेषण गर्न आवश्यक समन्वय गरिएको छ भने सञ्चारमाध्यममार्फत जनतासमक्ष सूचना छिटो पुर्‍याउने उद्देश्यले मिडिया डेस्कसमेत स्थापना गरिएको छ।

प्रधानमन्त्री शाहको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकार, उच्चपदस्थ सरकारी अधिकारी, व्यवसायी तथा पत्रकार सहभागी हुनेछन्।

प्रधानमन्त्री शाहले दुईदिने भारत भ्रमण सम्पन्न गरी सोमबार साँझ ६ः३५ बजे नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत स्वदेश फर्कने कार्यक्रम रहेको छ।

आइतबार मङ्सिर ६ गतेको तालिकाः
दिउँसो १ः४५ बजे दिल्ली प्रस्थान ।
अपराह्न १५ः१५ बजे दिल्लीमा अवतरण ।
साँझ ६ः०० बजे होटल ताजमा भारतका विदेशमन्त्रीसँग शिष्टाचार भेट ।

सोमबार मङ्सिर ७ गतेको तालिकाः
बिहान १० बजे राष्ट्रपति भवनमा सम्मान ग्रहण ।
बिहान १०ः४० बजे राजघाटमा पुष्पहार अर्पण ।
बिहान ११ः ०० बजे हैदराबाद हाउसमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेट।
मध्याह्न १२ः२५ बजे हैदराबाद हाउसमै दुई देशका प्रधानमन्त्रीको संयुक्त पत्रकार सम्मेलन ।
१५ः१५ बजे राष्ट्रपति भवनमा भारतका राष्ट्रपति द्रौपदी मुर्मुसँग भेट ।
१६ः५० बजे भारतबाट स्वदेश प्रस्थान ।