Logo

झलनाथ खनालले पार्टी विभाजन गर्नुहोला भन्ने लाग्दैन : नेता जोशी



काठमाडौं, १३ असोज । नेकपा (एकीकृत समाजवादी) का नेता एवं सांसद भानुभक्त जोशीले पार्टीभित्र अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच खटपट नभएको दाबी गरेका छन् ।
‘पार्टीका बैठकहरुमा नेताहरुको कुरा सुन्दा खासै समस्या देखिँदैन । हामी एउटा पार्टीबाट विद्रोह गरेर नयाँ रुपमा आएकाले सचेत छौं भन्नुहुन्छ । तर मिडियामा आउँदाखेरि अर्कै झझल्को आउने गरेको छ । सम्मानित नेता झलनाथ खनालले पनि नराम्रो मनसाय वा विरोध नसम्झनुहोला भन्नुभएको छ । अहिले नेकपा (एकीकृत समाजवादी) मात्र होइन, सबै कम्युनिस्ट पार्टीलाई एकताबद्ध गराउन लाग्नुपर्ने बेला पार्टी र देशकै नेतृत्व सम्हालिसकेका नेताले पार्टी विभाजन गर्नुहोला भन्ने लाग्दैन,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
मुलुकको बिग्रँदो आर्थिक अवस्था सुधार्न सबै राजनीतिक दलहरु मिलेर छलफल चलाउनुपर्ने आवश्यकता पनि जोशीले औंल्याए । उनले भने, ‘अहिले संघ र प्रदेशमा गरी ८८४ माननीय छौं । सात प्रदेश र ७५३ पालिकामा सरकार छन् । तर सोचे अनुसारको परिणाम दिन सकेका छैनौं । मुलुकले साधारण खर्च नै धान्न नसक्ने अवस्था आयो । यसबारे सबै पार्टीले सानातिना मतभेद बिर्सेर छलफल चलाउनुपर्छ । अब हामीले आआफ्ना कमीकमजोरी सच्चाउनुपर्छ । द्वन्द्व बढाउने भन्दा पनि कम गर्नुपर्छ भन्ने पक्षमा छौं ।’
जनताको साथमा समाजवादी भन्ने आफ्नो पार्टीको जागरण अभियान सुदूरपूर्वको काँकडभिट्टामा आजदेखि सुरु भएर असोज २८ मा सुदूरपश्चिमको महेन्द्रनगरमा गएर टुंगिने पनि उनले बताए । उनले भने, ‘पूर्वबाट अभियान सुरु गरेका छौं । सबै नेताहरु सँगै जानुहुन्छ । राजनीतिक पार्टीका नेताहरु जनताको माझमा गएर जनताको कुरा सुन्नुपर्छ भनेर जागरण अभियान सुरु गरेका हौं ।’ संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना समितिका सभापति समेत रहेका जोशीले समितिको पहलमा शिक्षक आन्दोलन टुंगिएको र चिकित्सक आन्दोलन टुंगिने क्रममा रहेको पनि बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot