जुम्लामा युद्धकालीन बम विस्फोट हुँदा दुई जना घाइते


सुर्खेत । जुम्लाको हिमा गाउँपालिका–ओदीमा युद्धकालीन बम विस्फोट हुँदा दुई जना घाइते भएका छन्। सोमबार भएको विस्फोटमा घाइतेमध्ये एक जनाको अवस्था सामान्य रहेको छ भने १४ वर्षीय बालक गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार विस्फोटमा घाइते भएका बालकको अवस्था गम्भीर छ। उनलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने तयारी भइरहेको छ।

प्रहरीका अनुसार विस्फोट भएको बम युद्धकालीन हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

युद्धकालीन विस्फोटक पदार्थ अझै पनि विभिन्न स्थानमा जोखिमका रूपमा रहन सक्ने भएकाले त्यस्ता शङ्कास्पद वस्तु फेला परे नछुन र नचलाउन प्रहरीले आग्रह गर्दै आएको छ।

Skip This