विदेशी शक्तिले हेग पुर्याउँछौं भनेर दबाब दिएपछि प्रचण्डले एमालेसँग सम्बन्ध तोडेको रघुवीर महासेठको दाबी (भिडिओसहित)


काठमाडौं, १४ असोज । नेकपा (एमाले) का सचिव तथा पूर्व परराष्ट्रमन्त्री रघुवीर महासेठले कोशी प्रदेशमा पार्टीको कुनै गुट तथा उपगुट नरहेको स्पष्ट पारेका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले नचाहेको भए माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल तेस्रो पटक मुलुकको प्रधानमन्त्री बन्न सक्ने अवस्था नभएको महासेठको दाबी छ । तर, एमालेको साथ छोड्नको लागि प्रचण्डलाई देशी तथा विदेशी शक्तिले हेग पुर्याउनेसम्मको दबाब दिएको उनको दाबी छ ।

उनले भने,‘प्रचण्ड एमालेको सहयोगमा प्रधानमन्त्री बनेपछि कांग्रेससँग मिल्न जानुभयो । उहाँमा व्यक्तिगत महत्वकांक्षा बढ्यो । उहाँले कांग्रेससँग मिल्दा आफूलाई बढि फाईदा हुने महशुस गर्नुभयो । यो फाईदा र घाटाको उहाँले कहाँ क्यालकुलेशन गर्नुभयो भने देशी तथा विदेशी प्रतिक्रियावादी शक्तिले प्रचण्डजीलाई धम्क्याउन थाले, यदि तिमी कांग्रेससँग मिल्न सकेनौं भने, कांग्रेसँग मिलेर नयाँ सरकार बनाएनौं अथवा एमालेको साथ छोडेनौं भने तिमीलाई हामी हेग पुर्याउँछौं भनेर बाहिरी दबाब, बाहिरी दबाबकै कारण एमाले र प्रचण्डको सम्बन्ध त्यो बेलामा बिग्रियो । अब प्रचण्डजीको बारेमा मैले धेरै भनिरहनुपर्दैन् । उहाँकै कारणले नेकपा विभाजन हुन पुग्यो । प्रचण्डकै कारण एमाले र माओवादीबीचको सम्बन्ध बिग्रिएको हो ।’

Skip This