Logo

‘विश्वले विद्यमान ऊर्जा प्रणालीलाई तत्काल अन्त्य गर्न नसक्ने’



रियाद, २१ असोज । दुबईमा हुन लागेको कोप २८ जलवायु वार्ताका लागि प्रमुख सुल्तान अल जाबेरले जलवायु लक्ष्य प्राप्तिका लागि विद्यमान ऊर्जा पूर्वाधारलाई हतारमा भत्काउने ‘कल्पना’ त्याग्न सरकारहरूलाई आइतबार आह्वान गरेका छन् ।

उनले भने, “भोलिको नयाँ प्रणाली निर्माण गर्नुअघि हामी आजको ऊर्जा प्रणालीलाई भत्काउन गर्न सक्दैनौं । यो व्यावहारिक वा सम्भव छैन,” जाबेरले साउदी राजधानी रियादमासंयुक्त राष्ट्रसङ्घद्वारा आयोजित मध्य पूर्व र उत्तर अफ्रिका (मेना) जलवायु सप्ताहको उद्घाटन सत्रमा भने ।

उनले भने, “हामीले यो सुनिश्चित गर्नुपर्दछ कि हामी विभाजन र विनाशको पासोबाट बच्न सक्छौं । हामीले तथ्य र वास्तविकतालाई कल्पनाबाट, र प्रभावलाई विचारधाराबाट अलग गर्नुपर्दछ ।”

जलवायु अभियन्ताहरूले अर्को महिना दुबईमा सुरु हुने कोप २८ वार्ताको नेतृत्व गर्न जाबेरको नियुक्तिको आलोचना गरेका छन् । उनी यूएईको स्वामित्वमा रहेको तेल कम्पनी एडीएनओसीका प्रमुख पनि छन् ।

जाबेरले ‘जीवाश्म ईन्धनको प्रयोगलाई चरणवद्ध रूपमा हटाउनु अपरिहार्य छ’ भन्ने आफ्नो विश्वासमा जोड दिँदै अमेरिकी जलवायु दूत जोन केरीलगायत कोप सम्मेलनका सहभागीहरूको समर्थन प्राप्त गरेका छन् ।

यूएई र विशेष गरी विश्वको सबैभन्दा ठूलो तेल निर्यातकमध्ये एक साउदी अरबसहित अन्य तेल उत्पादक देशहरूका ऊर्जा अधिकारीहरूले ऊर्जा सुरक्षा सुनिश्चित गर्न जीवाश्म ईन्धनमा निरन्तर लगानीको लागि तर्क दिएका छन् ।

“रियादमा भएको वार्ताको उद्देश्य जलवायु परिवर्तनको प्रभावबाट सबैभन्दा बढी जोखिममा रहेको क्षेत्रका चुनौती र समाधानका बारेमा प्रकाश पार्नु हो,” आयोजकले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।

यस क्षेत्रमा पहिले नै उच्च तापक्रम र पानीको अभाव रहेको र ६० प्रतिशतभन्दा बढी जनसङ्ख्यासँग ‘पिउने पानीको पहुँच निकै कम छ’, विज्ञप्तिमा भनिएको छ ।

“बढ्दो तापक्रमले अझै निरन्तर र तीव्र खडेरी निम्त्याउने अनुमान गरिएको छ,” प्रतिवेदनमा भनिएको छ ।

जाबेरले यस क्षेत्रले सामना गर्नुपरेका चुनौतीहरूलाई पनि प्रकाश पारेका छन् । शक्ति ड्यानियलजस्ता आँधीबेहरीले निम्त्याएका विभत्स घटनाहरूले गत महिना पूर्वी लिबियामा दुई बाँधहरू फुटेको र डेर्ना शहरमा बाढी ल्याएको थियो ।

सन् २०१५ मा पेरिसमा भएको तापक्रम वृद्धिको सीमालाई सङ्केत गर्दै संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनका कार्यकारी सचिव सिमोन स्टिलले भने, “मध्यपूर्व र उत्तरी अफ्रिका क्षेत्र जलवायु समस्यासँग जुध्ने उपायबारे दोधारमा रहेको छ । यो क्षेत्रले जलवायु परिवर्तनको विनाशकारी प्रभावमात्र १.५ डिग्री सेल्सियसमा कम गर्ने मात्र नभएर विश्वमा समृद्धि सुनिश्चित गर्न आफ्नो अर्थव्यवस्थालाई सङ्क्रमण गर्ने चुनौतीको पनि सामना गरिरहेको छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot