काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को भोलिदेखि हुने भारत भ्रमणलाई स्वागत गर्न भारतको राजधानी नयाँदिल्लीमा भव्य तयारी गरिएको छ। प्रधानमन्त्रीको स्वागतका लागि दिल्लीका विभिन्न चोक तथा स्थानहरूमा नेपाल र भारतका राष्ट्रिय झण्डा राखिएको छ।
प्रधानमन्त्री बालेनको भ्रमणलाई सफल, व्यवस्थित र फलदायी बनाउन भारत सरकार, विदेश मन्त्रालय तथा प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा रहेको समूह सक्रिय रूपमा तयारीमा जुटेको छ।
भ्रमणलाई विशेष महत्त्वका साथ हेरिएको छ भने स्वागत, सुरक्षा, कूटनीतिक समन्वय र व्यवस्थापनका विभिन्न पक्षमा तयारी तीव्र पारिएको छ।
भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डे पनि प्रधानमन्त्रीको भ्रमणलाई सफल र फलदायी बनाउन सक्रिय रूपमा समन्वय गरिरहेका छन्। नेपाली दूतावासले भारतीय पक्षसँग आवश्यक समन्वय गर्दै भ्रमणका विभिन्न कार्यक्रमलाई व्यवस्थित बनाउन भूमिका निर्वाह गरिरहेको छ।
नेपालबाट भारत पुगेका पत्रकारहरूका लागि समेत विशेष व्यवस्थापन गरिएको छ। भ्रमणका गतिविधि तथा समाचार संकलन सहज बनाउन पत्रकारहरूलाई आवश्यक समन्वय र व्यवस्थापन मिलाइएको छ। जनतासमक्ष भ्रमणसम्बन्धी सूचना सहज र छिटो पुर्याउने उद्देश्यले मिडिया डेस्कसमेत स्थापना गरिएको छ।
प्रधानमन्त्री शाहको भ्रमणका क्रममा नेपाल–भारतबीच द्विपक्षीय सम्बन्ध, आर्थिक साझेदारी, व्यापार विस्तार, ऊर्जा, पर्यटन, पूर्वाधार, पारवहन तथा अन्य साझा हितका विषयमा छलफल हुने बताइएको छ।
प्रधानमन्त्री बनेपछि बालेनको यो पहिलो विदेश भ्रमण हो । आइतबार दिल्लीमा पुगेर सोमबार प्रधानमन्त्री बालेन स्वदेश फिर्ता हुने कार्यक्रम छ ।





प्रतिक्रिया