Logo

अराजकता माथि विजय प्राप्त नगरेसम्म देश अगाडि बढ्न सक्दैन् : शंकर पोखरेल



दाङ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले वर्तमान गठबन्धन सरकारका कारण देशमा राजनीतिक र आर्थिक सङ्कट सिर्जना भएको बताएका छन् । नेपाल लोकतान्त्रिक थारु संघ लुम्बिनी प्रदेशको प्रथम सम्मेलनको आज ( २०८० असोज २३ गते) दाङ घोराहीमा उद्घाटन गर्दै महासचिव पोखरेलले सरकारको असक्षमताको कारण मुलुक चरम आर्थिक सङ्कटमा परेको बताएका हुन् ।

उनले भने,अहिले मुलुकमा जुन प्रकारको सङ्कट उत्पन्न भएको छ, त्यो वर्तमान गठबन्धन सरकार र राजनीतिक अस्थिरताको कारणले हो ।’ महासचिव पोखरेलले राजनीतिक अस्थिरताकै कारण सामाजिक अराजकता फैलिइरहेको र हाल देखापरिरहेको अराजकता माथि विजय प्राप्त नगरेसम्म देश अगाडि बढ्न सक्दैन भन्ने धारणा राखे ।

नेपालको भूमि र किसान आन्दोलनमा थारु समुदायको महत्वपूर्ण योगदान रहेको तथा संविधान निर्माणको समयमा एक मधेश एक प्रदेशको नारा लागिरहेको बेला त्यो स्वीकार्य नहुने थारु समुदायको अडान रहेको स्मरण गर्दै महासचिव पोखरेलले थारु समुदायको आन्दोलन र भाषा सँस्कृतिलाई अघि बढाउन नेकपा (एमाले)ले अगुवाइ गरेको बताए । नेकपा (एमाले)ले थारु समुदाय लगायत नेपालका सबै वर्ग र समुदायको प्रतिनिधित्व गर्दै समृद्ध नेपाल निर्माणको अभिभारा बोकेर हिँडेको र त्यो पूरा हुन नदिने र अस्थिरता कायम गर्ने अनेक प्रयत्न भइरहेको उनको भनाई थियो ।

‘समृद्ध नेपाल, सुखी नेपाली’को आकाङ्क्षा बलियो राष्ट्रिय शक्तिले मात्र पूरा गर्न सक्ने र त्यो शक्तिका रूपमा नेकपा (एमाले) लाई स्थापित गर्नुपर्ने आवश्यकता रहेको महासचिव पोखरेलले बताए । उनले आउने निर्वाचनमा नेकपा (एमाले)को एकल बहुमतको सरकार बनाउनुपर्नेमा जोड दिए ।

महासचिव पोखरेलले नेकपा (एमाले)को मुख्य लक्ष्य पार्टीलाई सुदृढ र एकताबद्ध बनाउने रहेको र सांगठानिक रूपमा सबै तहका अधिवेशनहरू सम्पन्न गरेर जनतामा जाने बताए । अधिवेशनका क्रममा भएको लोकतान्त्रिक अभ्यासलाई गलत ढङ्गबाट व्याख्या गरी पार्टीमा तिक्तता उत्पन्न गराउन चाहने शक्तिहरूले चलखेल गरिरहे पनि एमालेलाई कमजोर बनाउन नसक्ने उनको भनाइ छ ।

सो अवसरमा नेकपा (एमाले) का पोलिटब्यूरो सदस्यहरू नरुलाल चौधरी, शान्ता चौधरी, नेकपा (एमाले) दाङका अध्यक्ष हुकुमबहादुर बस्नेतलगायत बोलेको एमालेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot