Logo

प्रधानन्यायाधीश श्रेष्ठ चीन भ्रमणमा



काठमाडौं, कार्तिक १२ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको नेतृत्वमा सर्वोच्च अदालतका न्यायाधीश, मुख्य रजिष्ट्रार लगायत शनिबार चीन भ्रमणमा गएका छन्। ‘सुप्रिम पिपुल्स कोर्ट अफ चीन’ का प्रधानन्यायाधीशको निमन्त्रणामा श्रेष्ठ नेतृत्वको टोली एक साताका लागि त्यसतर्फ गएको हो।

नेपाली टोलीले चीनको अदालतका उच्च अधिकारीहरूसँग औपचारिक भेटघाट गरी त्यहाँको कानुन र न्याय प्रणालीसँग सम्बन्धित विषय र आपसी सहयोगका विषयमा छलफल गर्ने कार्यक्रम रहेको सर्वोच्च अदालत प्रशासनले जनाएको छ।

नेपाली टोली ‘चाइना ल सोसाइटी’ को आयोजनामा सिन्जाङ प्रदेशमा आइतबारदेखि मंगलबारसम्म ‘सेन्ट्रल एसिया र साउथ एसिया लिगल फोरम’को कार्यक्रममा पनि सहभागी हुने छ।

भ्रमण दलमा प्रधानन्यायाधीश श्रेष्ठकी पत्नी रोशनी अमात्य श्रेष्ठ, न्यायाधीश आनन्दमोहन भट्टराई दम्पती, मुख्य रजिष्ट्रार लालबहादुर कुँवरलगायत छन्। प्रधानन्यायाधीश नेतृत्वको टोली कात्तिक १७ गते स्वदेश फिर्ता हुने सर्वोच्च अदालतले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot