Logo

इरानबाट तीन हजारभन्दा बढी अफगान आप्रवासी स्वदेश फर्किए



काबुल, १७ कात्तिक । तालिबान नेतृत्वको अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयले तीन हजारभन्दा धेरै अफगान आप्रवासी इरानबाट स्वदेश फर्किएको बताएको अफगानिस्तानस्थित खामा प्रेसले जनाएको छ ।

बिहीबार तालिबान नेतृत्वको मन्त्रालयले सामाजिक सञ्जाल एक्समा अफगान मूल्का करिब तीन हजार छ सय ७६ मानिस जबरजस्ती तथा स्वेच्छाले अफगानिस्तान फर्किएको बताएको छ ।

तीमध्ये तीन सय तीन परिवारलाई पहिचान सहयोगको आवश्यकता परेको थियो र उनीहरूलाई सहयोगका लागि अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन ९आइओएम० को कार्यालयमा पठाइएको तालिबानले नियुक्त गरेको सीमा क्षेत्र इस्लाम कलाका अधिकारीलाई उद्धृत गर्दै खामा प्रेसले बताएको छ ।

बुधबार तालिबान सरकारले नोभेम्बर १ सम्म चार हजारभन्दा धेरै अफगान आप्रवासीलाई पाकिस्तानबाट जबरजस्ती फर्काइएको बताएको थियो ।

खामाका अनुसार सरकारहरूले शरणार्थी र आप्रवासी जनसङ्ख्याको व्यवस्थापन जारी राखेका कारण यो स्थितिले ती देशमा अफगान आप्रवासीहरूको आगामी चुनौती र कठिनाइहरूलाई देखाउँछ ।

यसैबीच अफगानिस्तानस्थित टोलो न्युजका अनुसार तोर्खम आप्रवाी शिविरका चिकित्सकले आफूले पाकिस्तानबाट फर्किएका करिब दुई हजार बिरामी आप्रवासीको उपचार गरेको बताएका छन् । अफगान आप्रवासीहरूलाई राम्रो उपचार गर्न आफूहरू तयार रहेको चिकित्सकहरूले बताएका छन् ।

खालिद बिन वालिद कोरस्थित सैन्य अस्पतालका प्रमुख सलाहुद्दीन अयुबीले भने, “यहाँ बालबालिका, महिला र पुरुष बिरामी छन्, उनीहरूमा सर्जिकल बिरामी पनि छन्, अधिकांश बिरामीको यहाँ उपचार हुन सक्तैन, हामी उनीहरूलाई केन्द्रमा पठाउने छौँ, अहिलेसम्म हामीले एक हजार एक सय १२ मानिसको उपचार गरेका छौँ र हामी अहिले पनि आफ्ना देशवासीको सेवा गरिरहेका छौँ ।” रासस



प्रतिक्रिया दिनुहोस्