गायक हेमन्त शर्माद्धारा नेपाली क्रिकेट टिमलाई ५० हजार पुरस्कार हस्तान्तरण


काठमाडौं,२१ कार्तिक । गायक तथा सर्जक हेमन्त शर्माले नेपाली क्रिकेट टिमलाई ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरेका छन् ।

गायक शर्माले मंगलबार क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल र ओपनर ब्याटसम्यान कुशल भुर्तेललाई भेटेर पूर्वघोषित रकम हस्तान्तरण गरेका हुन्।

शर्माले फेसबुकमा स्टाटस लेख्दै रकम हस्तान्तरण गरेकोबारे जानकारी दिएका छन्।

उनले लेखेका छन् ‘अस्ति बोलेको कुरा पूरा गर्दा खुसी मिल्यो। उहाँहरूसँग मीठा कुराकानी पनि भए। खुसी त त्यतिबेला अझ दोब्बर भयो जब उहाँहरूले दाइको यो सहयोगमा हामीले अरू थपेर अस्ति रातिको भूकम्पले क्षतिग्रस्त भएको क्रिकेटर अनुज चुनाराको घर मर्मतका निम्ति पठाउँछौँ भन्नुभयो,’ ।

जाजरकोट केन्द्रबिन्दु गरी शुक्रबार राति गएको भूकम्पले क्रिकेटर अनुज चुनाराको घर क्षतिग्रस्त भएको छ। उनको घर बनाउन राष्ट्रिय टिमले सहयोग गर्ने कप्तान रोहितले यसअघिनै घोषणा गरिसकेका छन् ।

शर्माले आईसीसी टी-२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा यूएईलाई हराएपछि ५० हजार पुरस्कार दिने घोषणा गरेका थिए।

नेपालमा भएको आईसीसी टी-२० विश्वकपको एसिया छनोटअन्तर्गतको फाइनल खेलमा नेपालले यूएईविरुद्ध ८ विकेटको शानदार जित निकाल्दै अर्को वर्ष अमेरिका र वेष्ट इण्डिजमा हुने टी-२० आईमा आफ्नो स्थान पक्का गरेको थियो ।

Skip This

Omoda E5 Pro