काठमाडौँ, ११ कात्तिक । हिमाली क्षेत्रमा जलवायु परिवर्तनले सिर्जित जटिल विपद् न्यूनीकरणका लागि अन्तरिक्ष प्रविधि, तथ्याङ्क आदानप्रदान र क्षेत्रीय सहकार्यमा जोड दिइएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले उक्त कुरा थाइल्यान्डको बैङ्ककमा आयोजित एसिया तथा प्रशान्त क्षेत्रमा दिगो विकासका लागि अन्तरिक्ष अनुप्रयोगसम्बन्धी पाँचौँ मन्त्रीस्तरीय सम्मेलनको उद्घाटनसत्रमा बताएको हो ।
संयुक्त राष्ट्रसङ्घीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक र सामाजिक आयोगद्वारा आयोजित कार्यक्रममा बुधबार बिहान मन्तव्य दिँदै मन्त्री श्रेष्ठले जलवायु तथा भू–विपद्को सामना गर्न क्षेत्रीय सहकार्य र प्रविधि उपयोगमा जोड दिएको हो ।
सम्बोधनका क्रममा मन्त्री श्रेष्ठले हालै लाङटाङस्थित लिरुङमा हिमपहिरो तथा बूढीगण्डकी क्षेत्रमा पहिरोका कारण भएका ठूला विपद्, जनधनको क्षति र निर्माणाधीन जलविद्युत् आयोजनामा पुगेको असरबारे ध्यानाकर्षण गराएको थियो ।
उनले द्रुत क्षति तथा आवश्यकता आकलनअनुसार विपद्को प्रभाव करिब २.७ अर्ब अमेरिकी डलरबराबर रहेको र पुनर्निर्माणका लागि करिब ४.८ अर्ब डलर आवश्यक पर्ने जानकारी दिए ।
उनले बैङ्ककको मन्त्रिस्तरीय घोषणापत्रको मस्यौदाको स्वागत गर्दै सन् २०२६ देखि २०३० सम्मको तेस्रो चरणमा उपग्रहबाट प्राप्त तथ्याङ्क साझेदारी, पूर्वसूचना प्रणाली र प्राविधिक सहयोगलाई सुदृढ बनाउन अपिल गरे ।
साथै, हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान नगण्य (०.०१%) रहे पनि सन् २०४५ सम्ममा शून्य कार्बन उत्सर्जन हासिल गर्ने र स्वच्छ ऊर्जा प्रणालीको रक्षा गर्ने नेपालको प्रतिबद्धता दोहोर्याए ।
सम्मेलनका अवसरमा बिहीबार (२९ अक्टोबरमा) नेपाल र संयुक्त राष्ट्रसङ्घीय इएससीएपीको संयुक्त आयोजनामा ‘सगरमाथादेखि सागरसम्मः भोटेकोशी–त्रिशूली विपद्का पाठहरू’ विषयक क्षेत्रीय संवाद समेत सञ्चालन हुन गइरहेको मन्त्री श्रेष्ठले सहभागीलाई जानकारी गराए ।




प्रतिक्रिया