नेपाल भ्रमणमा रहेको चिनियाँ प्रतिनिधिमण्डलको राष्ट्रपति पौडेलसँग शिष्टाचार भेटवार्ता


काठमाडौं,२३ कार्तिक । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का तिब्बत स्वशासित क्षेत्रका सचिव वाङ छुङछेङ नेतृत्वको प्रतिनिधिमण्डलले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका छन्।

राष्ट्रपति कार्यालय शीतल निवासमा बिहीबार भएको भेटवार्तामा दुई देशबीचको सम्बन्ध र आपसी हित लगायतका विषयमा कुराकानी भएको शीतल निवासले जनाएको छ ।

राष्ट्रपति पौडेलले दुई देशबीच रहँदै आएको सम्बन्ध आगामी दिनमा अझै प्रगाढ हुँदै जाने विश्वास व्यक्त गर्दै हालै जाजरकोट र रुकुम पश्चिम जिल्लामा गएको विनाशकारी भूकम्पले ठूलो धनजनको क्षति हुँदा भूकम्प प्रभावितहरूका लागि चीनले प्रदान गरेको सहयोगका लागि आभार व्यक्त गरेका थिए।

विपद्पश्चातको पुननिर्माणका लागि प्राप्त चिनियाँ सहयोगको राष्ट्रपतिले प्रशंसा गरेको उनको सचिवालयले जानकारी दिएको छ । सचिव छुङछेङले नेपालले विगतदेखिनै लिँदै आएको एक चीन सिद्धान्तप्रति आभार व्यक्त गरेको शीतल निवासले बताएको छ ।

Skip This

Omoda E5 Pro