Logo

दुर्गा प्रसाईं काठमाडौं केन्द्रित हुँदा, पूर्वराजा ज्ञानेन्द्र शाह र लिङ्देन झापामा व्यस्त हुने



काठमाडौं, २६ कार्तिक । मेडिकल व्यवसायी दुर्गा प्रसाईं यतिवेला व्यवस्था बदल्नको लागि निर्णायक आन्दोलनको तयारीमा रहेको चर्चा छ । प्रसाईंले नेतृत्वको गर्ने आन्दोलनमा पूर्वराजा ज्ञानेन्द्र शाहको पनि साथ र समर्थन रहेको चर्चा हुने गरेको छ । यही सन्दर्भमा १२ बुँदे पक्षधरहरुको काठमाडौंमा बैठक बसेर आगामी चूनौतिबारे समिक्षासमेत भैसकेको छ ।

अहिले सञ्जालमा ‘एक जना दुर्गा प्रसाईंले नै हल्लाईदिने यो व्यवस्था कति कमजोर रहेछ’ भनेर टिकाटिप्पणी भैरहेको छ । ठूला दलका शीर्ष नेताहरुबीच व्यवस्थाविरुद्ध हुने आन्दोलनबारे एकमतको धारणा रहेको कुरा स्वयम प्रधानमन्त्री पुष्पकमल दाहालले सार्वजनिक रुपमा बोल्नुको पछाडि प्रसाईंको आन्दोलनमा पूर्वराजा ज्ञानेन्द्रको साथ र समर्थन रहेको उनीहरुको बुझाई हो । नत्र सरकार नै डराउनुपर्ने अवस्था कसरी सिर्जना भयो ? अहिले यो विषय चर्चा बनेको छ ।

झापाको एक कार्यक्रममा पूर्वराजा शाहका परिवारका सदस्यहरुलाई एउटै मञ्चमा उभ्याएपछि प्रसाईंको मनोबल बढेको हो । तर, पूर्वराजा शाहको निकटता भने राप्रपासँग छन् । उनले राप्रपाका नेताहरुसँग निरन्तर भेटवार्ता गरिरहेको चर्चा छ । हालै अमेरिका भ्रमणबाट स्वदेश फर्किएका राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसँग पूर्वराजा शाहको घण्टौं लामो भलाकुसारी भएको बुझिएको छ ।

पूर्वराजाले प्रसाईंलाई भन्दा बढि नै महत्व लिङ्देनलाई दिएका छन् । प्रसाईंले आगामी मंसिर ७ गते काठमाडौंमा व्यवस्थाविरुद्ध आन्दोलन गर्ने घोषणा गरेका छन् । कतिपयले प्रसाईंको कार्यक्रममा कति मान्छे आउलान् ? भनेर अहिलेदेखि नै चर्चा तथा परिचर्चा गर्न थालेका छन् ।

तर, पूर्वराजा ज्ञानेन्द्र भने मंसिर ९ गते झापाको कार्यक्रममा जाने भएका छन् । मंसिर ९ गते हुने उक्त कार्यक्रमको लागि पूर्वराजा दुई दिनअघि नै झापा पुग्ने बताईएको छ । झापाको कार्यक्रम भव्य बनाउनको लागि लिङ्देनलाई निर्मल निवासको निर्देशन रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot