पर्वत । पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित बनेको पर्वतको जलजला गाउँपालिकालाई प्रवासीहरूबाट करिब ८ लाख रुपैयाँ सहयोग प्राप्त भएको छ।
रोजगारी, पेसा, व्यवसाय र अध्ययनको सिलसिलामा अस्ट्रेलियामा रहेका जलजला जन्मथलो भएकाहरू आबद्ध ‘पर्वत जलजला नेपाली कम्युनिटी’ ले ७ लाख ८३ हजार ३५८ रुपैयाँ ५० पैसा सहयोग गरेको हो।
अस्ट्रेलियामा रहेका विक्रम खत्रीको नेतृत्वमा सङ्कलन गरिएको उक्त रकम जलजला गाउँपालिकाको विपद् कोषमा जम्मा भएको अध्यक्ष राजुप्रसाद आचार्यले जानकारी दिएका छन्। अध्यक्ष आचार्यले सहयोगदाताहरूलाई धन्यवाद दिँदै विपद्बाट क्षति पुगेका निजी आवास र भौतिक पूर्वाधार पुनर्निर्माणमा रकम परिचालन गरिने बताएका छन्।
गाउँपालिकाको विवरणअनुसार बाढीपहिरोबाट जलजलामा १२६ घर पूर्ण र ५० घर आंशिक रूपमा क्षति भएका छन् भने थप १४० घर जोखिममा रहेका छन्। फर्से, लामाखेत, ताङवाङ, खानीगाउँ र पालसीङ क्षेत्र बाढीपहिरोबाट बढी प्रभावित भएका छन्। साथै तटीय क्षेत्रमा कटान र बाढीको जोखिम बढेको छ।
गाउँपालिका उपाध्यक्ष दीपक आचार्यका अनुसार बाढीपहिरो प्रभावितको पुनर्वास र पुनर्निर्माणका लागि अल्पकालीन तथा दीर्घकालीन योजना बनाइएको छ। आचार्यले ‘तत्कालका लागि जस्तापाता, भाँडाकुँडा, लत्ताकपडा र खाद्यान्न उपलब्ध गराएर अस्थायी टहरा बनाई बसोबासको व्यवस्था मिलाउने योजना रहेको’ बताएका छन्। यसका साथै ‘दीर्घकालीन रूपमा सरकारको नीतिअनुसार निजी आवास र क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण गरिने’ उनले जानकारी दिए।
उपाध्यक्ष आचार्यका अनुसार निजी आवाससँगै क्षतिग्रस्त सडक, खानेपानी, सिँचाइ र विद्यालय भवन पुनर्निर्माण तथा जोखिममा रहेका बस्तीको संरक्षण गर्नुपर्ने आवश्यकता छ। बाढीपहिरो नियन्त्रणका लागि आवश्यक आर्थिक स्रोत जुटाउन सङ्घीय तथा प्रदेश सरकार, दातृ निकाय र दाताहरूसँग समन्वय भइरहेको उनले बताएका छन्।




प्रतिक्रिया