Logo

तिहारको रौनकता छैन जाजरकोटमा



काठमाडौं, २७ कात्तिक । आज तिहारको तेस्रो दिन । गाई पूजा । जाजरकोटको भेरी नगरपालिकामा तिहारकोे कुनै रौनकता छैन । न चाडबाडको तयारी छ, न त देउसी भैलोको रमाइलो । कात्तिक १७ मध्यराति रामीडाँडा केन्द्रबिन्दु भएर आएको ६.४ बाट व्यापक रुपमा जनधनको क्षतिसँगै यहाँका अधिकांश नागरिक घरबाहिर छन् ।
‘यहाँ चाडबाडको रौनकता छैन । जताततै सुनसान छ । लक्ष्मीपूजा, देउसीभैली केही पनि छैन । चिसोको समस्या बढेको छ । परकम्प आइरहेकाले कोही घरभित्र बस्न सकेको छैन । शतप्रतिशत नगरबासी घरबाहिरै छन् । क्रमशः लयमा आउने विश्वास छ,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँगको कुराकानीमा नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्तीले भने ।
राहत लिने क्रममा नागरिकले पनि इमानदारी देखाउन नसकेको उनले बताए । घर्तीले भने, ‘आधारभूत आवश्यकताका एकसरो राहत पुर् याएका छौं । तर राहत लिनेमा पनि इमानदारी देखिएन । मैले एक थान पाल पाएँ, दोहोर् याएर लिन्नँ भन्ने पवित्र भावना भएन । राहत जादुको घडी होइन । एक हप्ता दुई हप्तामा सकिने कुरा पनि होइन । क्रमशः राम्रो हुँदै गएको छ ।’
भूकम्पपीडित क्षेत्रमा हेलिकप्टर आतंक बन्द गर्न पनि उनले माग गरे । घर्तीले भने, ‘प्रधानमन्त्री नै आएपछि अब मन्त्रीहरुको आवश्यकता छैन । भेरीको वारिवारि कहिले कालो, कहिले सेतो हेलिकप्टर नघुमाऊँ । सेलिब्रिटी बन्ने धुन छाडौं । अब हेलिकप्टर आतंक बन्द गरौं । बरु जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सरक्षाकर्मीलाई काम गर्न दिऊँ ।’
सरकारले अस्थायी टहरा बनाउन ५० हजार दिने भने पनि विपद् व्यवस्थापन कोषमा जम्मा भइनसकेको उनले बताए । घर्तीले भने, ‘हामी जनप्रतिनिधिको दुर्भाग्य भन्नुपर्छ कहिले कोरोनाको सुई गनेर बस्नुपरेको छ, कहिले त्रिपाल गनेर बस्नुपरेको छ । राहतमा ढिलासुस्ती भइरहेको छ । पुनर्निमाणमा सबै दातृनिकायको भर पर्ने अवस्था छ ।’



प्रतिक्रिया दिनुहोस्